समाज

चिताको धुवासँगै उड्यो युवाको सपना

प्युठान ट्याक्टर दुर्घटना

ट्याक्टर दुर्घटनामा मारिएका पाँचजना युवाको सोमबार संयुक्त अन्त्येष्टि गरिँदै। तस्बिर: नागरिक

होलेरीनजिकै बाइजा गाउँको जंगलमा सोमबार लहरै बनाइएका चितामा एकैटोलका ५ युवाको शव जलिरहँदा सिंगो गाउँ नै मर्महात थियो। साउने झरीमा आकाश रोएजस्तै मलामीका आँखा पनि एकनासले बगिरहेका थिए भने चितामाथिको धुवाँ जस्तै मृतकका सपना पनि धुवाँसँगै उडिरहेका थिए। गत शनिबार प्युठानको रुमालेमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका रोल्पाका मजदुरहरूको सोमबार राति सामूहिक अन्त्येष्टि गरिँदा आफन्तको अवस्था अझ हृदय विदारक देखिन्थ्यो।  

आफ्नो काखे बालक छिमेकीलाई समाउन दिएर दागबत्ती दिनुअघि श्रीमान्को अनुहार अन्तिमपटक हेरेर अर्धचेत बनेका किशोरीहरू अनि कलिलो उमेरकाछोरालाई दागबत्ती दिन बाध्य बुवाहरू बाँचुन्जेल छटपटीमै रहनेछन्। मलामी गएका होलेरी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका पत्रकार सन्तोष शर्मा भन्छन्, ‘अत्यन्त दुखद् र भावविह्वल अवस्था थियो। सबै निःशब्द।’ शर्माले थपे, ‘मृत्यु आफैंमा पीडादायक हुन्छ। तर बाइजा गाउँको पीडा बेग्लै थियो। यस्तो अकल्पनीय र अपूरणीय पीडा कसैले भोग्नु नपरोस्।’

गत वैसाखमा बिहे गरेका १९ वर्षीय थमन बाठामगर छिमेकी साथीहरूसँगै उज्यालो भविष्यका लागि कामको खोजीमा प्युठान लागेका थिए तर अब उनी कहिल्लै घर फर्किने छैनन्। २१ वर्षीय सागर बस्नेतकी श्रीमती ३ महिनाको काखे बच्चा समातेर मृतक श्रीमान्को लाश हेर्दै भक्कानिरहँदा २४ वर्षीय रीमबहादुर बस्नेतकी श्रीमती कुश्मा ६ महिने छोरा बोकेर विलाप गर्दै थिइन्। एकै टोलका ६ जना युवाको मृत्युपछि यतिबेला बाइजा गाउँ शोकमा डुबेको छ। मृतकका घरमा पुग्ने छिमेकी र आफन्तसँग बोल्ने शब्दसमेत छैन।

लाउँलाउँ खाउँखाउँको उमेरमा सिउँदो पुछिएका गाउँछिमेकका बुहारी अनि बाला उमेरमा टुहुरा बनेका बालबालिका, उमेरले नेटो काटेका मृतकका बुवा–आमा, भाव विह्वल छ, होलेरीनजिकैको बाइजा गाउँ। जीवनयात्रा सहजबनाउने आशामा रोजगारी खोज्न बाहिरी जिल्ला गएका युवा उमेरका छोराको किरिया बसेका बुवाहरूको अवस्था दर्दनाक छ। छोरीचेलीको सिउँदो पुछिदिनुपर्दाको बाध्यताले बाइजा गाउँका आमाहरू छटपटीमा छन्।  

गाउँमा रोजगारीनभएपछि सडक निर्माणको मजदुरीका लागि हिँडेका रुन्टीगढी गाउँपालिका–५, बाइजाका २१ वर्षीय सागर बस्नेत, २४वर्षीय रीमबहादुर बस्नेत, २५ वर्षीय कविराम बस्नेत, १९ वर्षीयवीरेन्द्र बाठा, १९ वर्षीय थमन बाठा, गोवद्र्धन बुढा र त्रिवेणी गाउँपलिकाका २५ वर्षीय कमल कुँवरले ज्यान गुमाएका थिए। यतिबेला बाइजा गाउँमा सागर, कविराम, थमन र वीरेन्द्रका बुवाहरू छोराको किरिया बसेका छन् भने बुवा नभएका कारण रीमबहादुरका दाइ भाइको किरीया बसेका छन्। एउटै घटनामा मारिएका ५ युवाको सोमबार राति संयुक्त अन्त्येष्टि गरिएको थियो भने गोवर्धन बुढामगरको मंगलबार बिहान अन्तेष्टि गरिएको छ।  

समय समयमा बाहिरी जिल्लामा हुने विपद् र विभिन्न दुर्घटनामा रोल्पाली मजदुरले ज्यान गुमाइरहने गर्दछन्। केन्द्र, प्रदेश र स्थानीय सरकारले आउँदा दिनमा जिल्लामै रोजगारीको सिर्जना गर्दै युवालाई आफ्नै जिल्लामा काममा लगाउने वातावरण बनाउनुपर्ने रोल्पालीको अनुरोध छ।  

प्रकाशित: ७ श्रावण २०७७ ०२:२५ बुधबार

प्युठान ट्याक्टर दुर्घटना