समाज

बर्षाकै पानीले बाढीको स्वरुप लिदा स्थानीय त्रसित

विगत तीन दिनदेखि निरन्तर रुपमा भइरहेको बर्षाको कारण जिल्लाको ठूला एवं साना नदीहरुमा आएको बाढीको पानीले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । उच्च पहाडी तथा चुरे क्षेत्र निरन्तर भइरहेको अविरल बर्षाको कारण वागमती, लाल बकैया तथा विभिन्न साना नदीहरुमा एकै पटक आएको बाढीको कारण तटीय क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् ।

  

लागातार भइरहेको बर्षाको पानीले सदरमुकाम गौरको मुख्य बजार जलमग्न भएको छ । सदरमुकाम गौरको मुख्य बजार क्षेत्रमा एक फिटदेखि २ फिटसम्म पानी जमेको छ । लाल बकैया नदीमा आएको बाढीले इशनाथ नगरपालिकाको वडा नम्वर १ बन्जरहा गाउँ डुबानमा परेका छन् । भारतले दशगजा मिचेर तटबन्ध निर्माण गरेको कारण नदीमा आएको बाढीको पानीले निकास नपाउदा बन्जरहा गाउँ डुवानमा परेको वडाअध्यक्ष विगु साहले बताएका छन् । 

 

बर्षा र बकैया नदीको पानी बस्तीमा प्रवेश मात्रै गरेन त्यहाँका सरकारी कार्यालयहरु समेत डुबानमा परेका छन् । लाल बकैया नदीमा आएको बाढीले सीमा प्रहरी चौकी बन्जरहा, स्वाथ्य चौकी र वडा कार्यालयमा समेत दुई फिट भन्दा बढी पानी जमेको वडाध्यक्ष साहले बताए ।

बाढीको पानी बढ्ने क्रम रोकिएन भने यहाँका करिव २ सय घरलाई कुनैपनि वेला सुरक्षित स्थानमा सार्ने सुरक्षाकर्मीलाई समेत सुरक्षित रहन हम्मे हम्मे परिरहेको स्थानीय अमरजित साहले बताए ।

यसैगरी तरहारी खोलामा आएको बाढीले कटहरिया नगरपालिका ९ डुमरिया गाउँ छेउको मुसहरी टोलमा गएराति नै बाढीको पानी प्रवेश गर्दा डुबानमा परेको छ । मुसहरी टोलका ३५ परिवारलाई आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । झाँझ खोलामा आएको बाढीले गरुडा नपा ४ शिवनगरमा २३ परिवारको १२५ जनालाई सरक्षित स्थानमा सारिएको डिएसपी ज्ञानकुमार महतोले बताए ।

बागमती नदीमा आएको बाढीबाट राजदेबी नगरपालिको ब्रम्हपुरी र बसन्तपुर, माधवनारायण नपाको पिपरा रजवाडामा बाँध कटान गर्ने खतरा उत्पन्न भएपछि अहिले युद्धस्तरमा नियन्त्रणको प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

लालबकैया नदीको बाढीले बौधिमाई नपा ३ र ४ र परोहा नगरपाकिलाको तेजापाकडमा बाँध कटान गरिरहेको हुँदा नदी नियन्त्रणको प्राविधिक टोली, सुरक्षाकर्मी, स्थानीय बासिन्दा र स्थानीय तहको सक्रियतामा नियन्त्रणको प्रयास जारी रहेको प्रजिअ घिमिरेले बताए ।

पछिल्लो तीन दिनदेखिको अविरल बर्षाको कारण पूर्वीभेग बागमती, पश्चिम लालबकैया नदीको साथै झाँझ, चाँदी, तरहरी, भकुवा लगायतका नदीहरुमा बाढीको रौद्र रुप देखेर सम्भावित बाढीको जोखिमलाई देखेर स्थानीय बासीन्दाहरु सजग भएको तथा सुरक्षा तथा उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विशेष दस्तालाई तयारी अवस्थामा राखिएको प्रजिअ घिमिरेको भनाइ छ । 

बाढीले बगाएर मृत्यु
रौतहटको चन्द्रप्र नगरपालिकाको चादी खोलामा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ । मंगलबार विहान ११ बजेको समयमा चन्द्रपुर नपा ३ गैडाटारस्थित चादी खोला तर्ने क्रममा स्थानीय ५५ वर्षीय सुकमान थिंगको ज्यान गएको हो ।

खोला तर्ने क्रममा थिंगलाई बाढीको पानीले बगाएको थियो । अत्याधिक मदिरा सेवन गरेर घर तर्फ जाने क्रममा खोला तर्न खोज्दा बाढीको भेलले उनलाई बगाएको थियो । बगाएको करिब तीन घण्टापछि उनको शव बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ६ श्रावण २०७७ १३:४७ मंगलबार

स्थानीय त्रसित पानीले बाढीको स्वरुप