समाज

समुदायमा संक्रमण फैलिएपछि राजबिराज लकडाउन

गत शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका सप्तरी राजविराज–६ का जेष्ठ नागरिकको पसलमा काम गर्ने दुई जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायका व्यक्तिमा संक्रमण फैलिएको पुष्टि भएपछि राजविराज नगरपालिकाले विज्ञप्ती जारी गर्दै बुधबारबाट पूर्ण लकडाउन घोषणा गरेको छ । 

राजबिराज नगरप्रमुख शम्भु यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा नगरभित्र कोरोना संक्रमण फैलिन नदिन लकडाउनलाई पूर्ण पालना गर्न नगरबासीलाई आग्रह गरिएको छ । लकडाउनको अवधिमा अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्किन समेत अपील गरिएको छ ।

बजार, पसल, व्यवसाय, सरकारी/गैर सरकारी कार्यालय, बित्तिय संस्थानहरु पूर्ण रुपमा बन्द गरी लकडाउन पालना गर्न अपील गरिएको छ । अत्यावश्यकीय कामका लागि बाहिर निस्किदा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजीक दूरी कायम गर्न नगरप्रमुख यादवले अपील गरेको छ ।

शुक्रबार कोरोनाका कारण मृत्यु भएका राजबिराजका व्यपारीसँग नगरका धेरै मानिस सम्पर्कमा आएको बताइएको छ । मृतकका परिवार, आफन्त र कामदार गरी २३ जनाको  स्वाब परीक्षण गर्दा मृतक परिवारका पाँच जना र दुई जना कामदार संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य प्रमुख दुनीयालाल यादवले भने,‘संक्रमित कामदारका परिवार र सम्पर्क व्यक्ति गरी २५ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी छ ।’ उनीहरुको परीक्षण रिपोर्टले समुदायमा कति संक्रमण फैलिएको छ/छैन यकिन हुन्छ’ उनले भने,‘ संक्रमित कामदारहरुमा संक्रमण पुष्टि भएपछि समुदायका व्यक्तिमा संक्रमण फैलिएको यकिन भैसक्यो ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतलाका निमित प्रमुख डा. रञ्जीत झाका अनुसार राजविराजमा समुदायमा संक्रमण फैलिएकोमा दुई मत रहेन । पहिलो संक्रमित व्यक्ति जो भारतबाट आएका थिए उनीहरुको सम्पर्कमा आएका उनका परिवारमा संक्रमण फैलिदासम्म समुदाय जोगीएकै थियो उनले भने,‘उनीहरुबाट समुदायका तेस्रो व्यक्तिमा संक्रमण फैलिएपछि समुदायमा फैलिएको बुझ्नुपर्छ ।’ भारतबाट सीधै घर पसेका पहिलो संक्रमित व्यक्तिको सम्पर्क व्यक्तिहरुको पहिचान गर्न सकस परिरहेको डा. झाले बताए । 

सैलुन, ग्यासका उपभोक्ता, बिउ, मलखाद खरिदकर्तादेखि समाजिक व्यक्तित्व, व्यपारी गरी धेरै व्यक्तिहरु उनको सम्पर्कमा आएका छन । उनको कामदारको सम्पर्क पनि समुदायका धेरै मानिससँग भएको छ । दुई जना संक्रमित कामदार मध्ये एक जनाको श्रीमती गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत रहेको डा. झाले बताए । उनको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ डा. झाले भने,‘उनमा संक्रमण पुष्टि भए अस्पतालको सेवा नै प्रभावित हुन पुग्छ । उनको सम्पर्कमा धेरै स्वास्थ्यकर्मी, चिकित्सक र पारमेडिक्स आएका छन् ।’

संक्रमित कामदार मध्ये अर्का गाउँमा भएको स्वजातीय भोजमा समेत सरिक भएको पाइएको छ । भोजमा उनीसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्न समेत सकस परेको छ । दुई सातामा उनीहरु कति मानिससँग भेटे यकिन गर्न कठिन छ ।

भारतबाट आउने व्यक्तिलाई सीधै क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान लत्याएर पहुँचवाला ती व्यक्तिलाई घर बस्ने छुट दिँदा राजबिराज समुदायीक संक्रमणको जोखिम बेहोरिरहेको एक चिकित्सकले बताए । कोरोना संक्रमणबाट मृत्यु भएका जेष्ठ नागरिक दुई साता अघि लामो समय भारतको नयाँ दिल्ली र विहारको दरभंगा बसेर सीधै राजविराज–६ स्थित घर पुगेका थिए । 

घरमा निरधक्क बस्दै आएका उनले पारिबाटै कोरोना ल्याएको चिकित्सकहरुको अनुमान छ । उनले पहिला आफ्नै घर परिवारका व्यक्तिहरुलाई संक्रमण सारे । त्यसपछि उनी नजिकका कामदारहरुलाई । र, कामदारहरुबाट समुदायमा संक्रमण फैलिएपछि जोखिममा राजबिराजसँग छिमेकका गाउँसहरबासी परेका छन् ।

प्रकाशित: ६ श्रावण २०७७ १३:२२ मंगलबार

कोरोना भाइरस लकडाउन समुदाय संक्रमण