समाज

कालिगण्डकीले ब्यापक कटान

बेनी जोमसोम सडक आधादर्जन स्थानमा कटान । पर्वतको जलजला गाउँपालिका २ मा रहेको राममन्दिर कटान । तस्बिर : हरिकृष्ण गौतम

माथिल्लो क्षेत्रमा अधिक बर्षासँगै आएको बाढीले उत्तरी म्याग्दीमा ब्यापक क्षति पुर्‍याएको छ । सोमबार दिउँसो अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरनामा बाढी आएपछि झरना नजिक रहेको करिब ७० लाखको लागतमा निर्मित सुर्वण खत्रीको रेष्टुरेन्ट, पार्किङमा राखिएको बस, स्काभेटर समेत बगाएको छ । 

अचानक झरना र आसपासका क्षेत्रमा रहेका ठाडो खोलामा बाढी आएपछि जनजीवन प्रभावित भएको स्थानीय पर्यटन ब्यवसायी इन्द्रसिंङ शेरचनले बताए । ‘सामान्य अवस्थामा रहेका झरना एक्कासी उर्लियो, नजिकै रहेका ठाडो खोलाले कटान गर्न सुरू गर्‍यो’ शेरचनले भने । उनका अनुसार घर फर्किदै गरेका काभ्रेको कानीखोलाले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजा बेपत्ता भएका छन् । झरना आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।  

गाउँपालिकाको वडा नं ३ दाना र वडा नं ४ नारच्याङको गार्डपाक जोड्ने झोलुङे पुल, सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुल, दानाको लाटाखोलामा स्थानीय रमेश बुढाथोकीको एक तले घर बगाएको छ । दानामा निर्माणाधिन २२० केभी क्षमताको विद्युत सबस्टेशन र क्रसर उद्योग कटानको उच्च जोखिममा छन् भने ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनामा समेत असर गरेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक कटानसँगै बस्तीतर्फ कटान गरेपछि सीमा प्रहरी चौकी आसपासमा ३० भन्दा धेरै घर जोखिममा रहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । ‘केहीदिन उच्च सतर्कता अपनाउन अपिल गरेका छौ,‘माथिल्लो भेगमा बर्षा हुँदा सधै बाढी आउँछ’ कुँवरले भने ।

कालिगण्डकी नदी मुस्ताङ हुँदै म्याग्दीको अन्नपूर्ण, रघुगंगा, बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिका हुँदै बग्ने भएकाले तटीय क्षेत्रमा कटान र जोखिम धेरै रहेको प्रहरीले जनाएको छ । कालिगण्डकीले जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राममन्दिरको धर्मशाला कटान गरेपछि पूजारीसहित ७ जनालाई हटाइएको छ । यता कालिगण्डकीको कटानले बेनी–जोमसोम–सडकले ७६ किलोमिटर लामो सडकखण्डको करिब एक दर्जन स्थानमा कटान गरेकाले तत्काल सडक सञ्चालनमा समस्या हुने म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

 ‘तत्काल सञ्चालनमा नआउने गरी ठाउँठाउँमा ध्वस्त बनाएको छ,‘बेस नै भत्काएकाले केही ठाउँमा बैकल्पिक बाटो बनाउनुपर्ने देखिन्छ’ प्रजिअ ढकालले भने । यता म्याग्दी खोलाले मालिका गाउँपालिका–६ दरबाङ बजारमा समेत कटान गरेको छ । म्याग्दी र कालिगण्डकी जिल्लाको माथिल्लो क्षेत्रबाट बग्ने दुई ठूला नदी हुन् भने दर्जनौ खोलाहरू समेत मिसिँदा पानीको बाहव बढ्ने गरेको छ ।

यो वर्ष म्याग्दीमा धेरै क्षति
अत्याधिक बर्षा, भिरालो जमिन, कमजोर माटो र भूमिगत पानी लगायतका कारण गत असार २५ गते एकैदिन धवलागिरी गाउँपालिका–६, मराङ, मालिका–७, विम र रघुगंगा–६, ठाडाखानीमा गएको बाढी तथा पहिरोमा परेर २८ जनाले ज्यान गुमाए भने चारजना अझै बेपत्ता छन् । पहिरोस्थलबाट ठूलो संख्यामा विस्थापित भएका छन् भने अझैपनि त्रास रोकिएको छैन । पहिरो पीडितलाई राहत संकलन तथा उद्धार तथा पुर्नवासको अभियान सुरू भएको छ ।

म्याग्दीमा ६० प्रतिशत भूभाग ६० डिग्री भन्दा भिरालो जमिन रहेको छ । बेनी नगरपालिकासहित जिल्लाका ५ वटै गाउँपालिकामा रहेका ४५ वडामै जोखिमयुक्त अवस्थामा छन् । कुल वर्ग किलोमिटरमा प्रतिवर्ष बग्ने मलिलो माटोले जिल्ला बाढीपहिरोमा उच्च जोखिममा रहेको देखिएको छ । जिल्लामा २५ भन्दा बढी ठूलो पहिरो र सयौंको संख्यामा रहेका मध्यम तथा साना पहिरोले करिव ९ सय र बाढीले १२ सय ५० घरधुरी जोखिममा परेको दुई वर्ष पुरानो तथ्याङ्कमा पहिरोले १ हजार ३४.१ हेक्टर क्षेत्रफल ओगटेको छ ।

उपल्लो कालीगण्डकी जलाधार क्षेत्रमा पर्ने म्याग्दीसहितका चार जिल्ला हेर्न पर्वतमा भू तथा जलाधार ब्यवस्थापन कार्यालय राखिएको छ । म्याग्दी बाढीपहिरोको जोखिममा भएपनि ठूला र प्राथमिक योजनाहरु समेत स्थानीय, प्रदेश र संघीय सरकारको छैनन् ।

प्रकाशित: ६ श्रावण २०७७ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App