समाज

सप्तकोशीमा खतरा बढ्दै, यस वर्षकै उच्च पानीको वहाव

फाइल तस्बीर

सप्तकोसी नदीमा निरन्तर पानीको वहाब बढ्दो गतिमा भएपछि खतरा बढ्दै गएको छ। आज बिहान छ बजे मापन अनुसार पानीको वहाब तीन लाख ३४ हजार ९९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ। सोमबार रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो छ। जसले गर्दा खतरा बढ्दै गएको हो।  

पानीको वहाब बढेसँगै अहिले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाममध्ये ४६ वटा खुल्ला गरिएको छ। पानीको वहाब बढ्दा कोशी ब्यारेज आसपास अहिलेसम्म कुनै समस्या नदेखिएपनि पूर्वी तटबन्धको माथिल्लो भागमा समस्या हुन सक्ने खतरा रहन्छ।  

सप्तकोसी नदीमा अहिलेसम्मको पानी मापनको तथ्याङ्क हेर्दा सवैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो।  त्यसपछि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो।  

पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ। पानीको बहाब बढेसँगै कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ। यस्तो  खतराको संकेत गर्दा एक लाख ५० हजार पानीको वहाब कट्नेवित्तिकै ‘अटोमेटिक’ पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।  दुई लाख काटनेवितिकै पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। यी तीनवटै वत्ती पानीको वहाव बढे अनुसार ‘अटोमेटिक’ नै बाल्ने नियम  छ। कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ।  

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको  थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका  थिए।

प्रकाशित: ६ श्रावण २०७७ ०२:१२ मंगलबार

सप्तकोशी