समाज

कोरोनाबाट मृत्यु: लाञ्छना डरले लुकाउने अभ्यास

पाकिस्तानको हैदरावादमा गत महिना कोभिड १९ का कारण मृत्यु भएका आफन्तको अन्तिम संस्कारमा सहभागी स्थानीय। तस्बिर: नदीम खवर/इपिए (सटरस्टकमार्फत)

मोहम्मद हानिफ/कराँची, पाकिस्तान

पछिल्लो महिना मृत्यु भएकाका परिवारजनलाई समवेदना दिन मैले केहीलाई टेलिफोन गरें। त्यतिबेला कसैले पनि मृत्युलाई कोभिड–१९ सँग जोडेनन्। सबैले अर्कै कारण देखाए।  

यो प्रसंगको सुरुवात दुई महिनाअघि एकजना काकाको मृत्युबाट हुन्छ। एक दशक संवाद नभएका भाइलाई मैले कल गरेको थिएँ। काका ८० वर्षका थिए। म काकाको जीवन राम्रोसँग बितेको र सार्थक रहेको बताउँदै थिएँ। तर, भाइले वार्तालापलाई अर्कै मोड दिए। उनले भने, ‘तपाईंका काका, मेरो बुवा कोभिड–१९ का कारण बित्नुभएको होइन।’ मैले कोभिड–१९ को ‘क’ पनि उच्चारण गरेको थिइनँ। काकाको कोभिड–१९ परीक्षणमा नेगेटिभ रिपोर्ट रहेको र उनको मृत्यु हृदयाघातबाट भएको बताइएको थियो।  

त्यो वार्तालापपछि केही दिनमा मैले अरु ६ जनालाई कल गरें। सबै वार्तालापमा एकप्रकारको समानता देखियो। मैले समवेदना दिएका परिवारमा मृत्यु भएकामध्ये पाँच पुरुष थिए, एक महिला। उनीहरू ३१ देखि ८२ वर्षसम्मका थिए। मैले केही नभन्दा पनि उतापट्टिबाट मलाई भनिन्थ्यो, ‘तपाईंले सोचेको जस्तो मृत्यु होइन।’

तर एउटा अपवाद पनि छ। मेरा एक साथीका बुवा बित्दा उनले कोभिड–१९ कै कारण भएको स्वीकार गरे। तर परिवारजनले मृत्युका कारणलाई ढाँट्न चाहेका थिए। ती साथी अमेरिकामा ३० वर्ष काम गरेका डाक्टर हुन्। मैले कल गर्दा उनले कुन परिस्थितिमा बुवाको मृत्यु भएको भनेर प्रस्ट्याएका थिए। उनका बुवा ८० वर्ष पुग्न लागेका थिए। पाकिस्तानमा अझै अधिकांश मानिस कोरोना भाइरसलाई परिहास अथवा ‘होक्स’ ठान्छन्। अन्यले सही हिसाबका मुस्लिमलाई यो रोग नलाग्ने मान्छन्।

केही पाकिस्तानीले आफ्ना परिवारजनको मृत्यु महामारीका कारण भएको बताएनन् किनभने उनीहरू आफन्तजनको मृत शरीरलाई एक्लै अन्त्येष्टि गर्न चाहँदैनन्।

साथीका बुवाले कराँचीमा सम्मानजनक सामाजिक जीवन बिताइरहेका थिए। उनी सार्वजनिक स्थानमा प्रार्थना गर्थे। उनको उमेरका लागि मस्जिद जान निषेध गरिए पनि पछाडितिरका ढोकाबाट उनी भित्र जान्थे। तर, रोगका कारण उनी थला परे र अस्पताल भर्ना भए। परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो र केही दिनमै उनको मृत्यु भयो।  

यो घटना मे सुरुतिरको हो, जतिबेला कोभिड–१९ का कारण मृत्यु भएकालाई परिवारजनले नभई स्थानीय अधिकारीले अन्तिम संस्कार गर्थे। साथीका आफन्तले प्रहरीलाई घुस दिएर मृत शरीरलाई आफंैले जिम्मा लिएका थिए। सुरुमा उनीहरूले मृत्युको कारण लुकाउन चाहेको थिए तर समाचार बाहिर ‘लिक’ भइसकेको थियो।

‘कतिपय मानिस समवेदना प्रकट गर्न आइरहेका थिए भने कतिपय गुनासो व्यक्त गर्न,’ मेरा साथीले भने, ‘तपार्इंका बुवालाई कोरोना थियो भने अरूसँग घुलमिल हुन किन दिएको, हामी सबैलाई यही कारणले संक्रमण भएको छ भने के गर्ने भन्ने उनीहरूको कथन थियो।’ तर मेरा साथीका परिवारजनले जोडदार तवरले आरोपको खण्डन गरेका थिए।  

कराँचीमा कार्यरत एक डाक्टरलाई फोन गरेर मैल सोधें, ‘आखिर किन मानिस कोभिड–१९ सँग सम्बन्धित मृत्युलाई लुकाउन चाहन्छन् ?’ उनको तर्क थियो, ‘मानिसहरू मृत शरीर र प्रहरी एकै समयमा घरमा आएको देख्न चाहँदैनन्।’ अर्का एक डाक्टरका अनुसार कोभिड–१९ को मृत्युलाई लिएर आमजनतामा डर, शर्म एवं अनावश्यक लाञ्छना लाग्ने सन्त्रास छ। ‘भाइरस कुनै ढोका छोएर भन्दा पनि खास कुकर्म र पाप गरेका कारण लाग्ने विश्वास उनीहरूमा छ,’ ती डाक्टरले भने।  

त्यस्तै आफ्नो प्रियजनको अन्तिम संस्कारका बेला कोही पनि उपस्थित भएनन् र कसैले पनि समवेदना व्यक्त गरेनन् भने के होला ? मृतकसँगको सम्बन्धका कारण भाइरस अन्यलाई र बालबालिकालाई स-यो भने के होला ? जे भएको हो, त्यसलाई अस्वीकार गर्दा के फरक पर्छ ? यो भाइरस महामारीअघि पनि मानिसको मृत्यु भएको थिएन र ? यस्तो बेला मृत्युको कारणलाई अर्कै बताउँदा नोक्सान हुन्छ ? जब कोही मानिस कोभिड–१९ ले मर्छ, वास्तवमा ऊ कोभिड–१९ ले मरेको होइन, ऊ त कोभिड–१९ ले निम्त्याएको जटिलताका कारण मरेको हो। मानिसहरू यसरी नै ढाँटिरहेका छन्। भाइरस संक्रमण भएकामध्ये ९८ प्रतिशत मानिस बाँच्छन् पनि।  

मैले हालै सबैभन्दा लामो समवेदना वार्तालाप नजिकका एक साथीसँग गरेको थिएँ। उनकी दिदी जुलाईको पहिला साता बितेकी थिइन्। कुनै अज्ञात बिमारीका कारण उनलाई लाहोरको एक अस्पतालमा भर्ना गरिएको थियो।  जब उनको स्थिति बिग्रँदै गयो, कोभिड–१९ को उपचार गर्न तोकिएको एक सरकारी अस्पतालमा उनलाई लान परिवारजनसमक्ष सिफारिस गरियो। मेरा साथीले दिदीलाई कोरोना नेगेटिभ भएको बारम्बार दोहो¥याएका थिए। अस्पतालमा लानासाथ एक डाक्टरले उनलाई कोभिड–१९ उपचार गर्ने सेक्सनमा लग्न सुझाएका थिए। ‘हामीले दिदीलाई कोभिड–१९ वार्डमा लग्न दिएको भए उनीहरूले हामीलाई मृत शरीर पनि दिने थिएनन्,’ ती साथीले भने।  

त्यसो त भाइरसबारे भ्रम राजनीतिक तहबाटै आउने गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भाइरसका ९० प्रतिशत केस सामान्य रुघाखोकीजस्तो हुने र त्यस्तो रुघाखोकी लाग्दैमा अस्पताल जानुनपर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।

त्यस्तै योजना तथा विकासमन्त्री असद उमरले मेको सुरुमा कोभिड–१९ भन्दा सडक दुर्घटनाका कारण पाकिस्तानमा अत्यधिक मानिसको मृत्यु हुने बताएका थिए। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जफर मिर्जाले जुलाईको सुरुमा भनेका थिए, ‘वर्षायाम सुरु भएपछि वर्षाले कोरोनालाई बगाएर लग्नेछ। तर वर्षा सुरु भएको केही दिनमै मिर्जामा कोरोना पोजेटिभ देखिएको थियो।  

मार्चको अन्तिमतिर जतिबेला महामारी भर्खर सुरु भएको थियो, प्रधानमन्त्री खानका सल्लाहकार तथा प्रवक्ता नदिम अफजल र उनका एक सहयोगीबीच भएको टेलिफोन वार्ता सोसियल मेडियामा लिक भएको थियो। अफजलले रंगीन भाषामा राजनीतिक प्रचारप्रसार छाडेर ती सहयोगीलाई घर जान र बालबच्चासँग समय बिताउन सुझाएका थिए। उनले सो वार्तालापमा हजारौं मानिसको मृत्यु भइरहेको तर सरकारले त्यसलाई लुकाएको समेत बताएका थिए।  

वार्तालाप सार्वजनिक भएपछि अफजलले सो कुराकानी सही भएको तर ती राजनीतिक सहयोगीले भाइरसलाई गम्भीर हिसाबले नलिएकाले त्यसलाई बढाइचढाइ गरेको भनेर प्रस्टीकरण दिएका थिए। उनले भनेका थिए, ‘राजनीतिक कार्यकर्ता अझै पनि राजनीतिक अभियान, बाटाघाटोको उद्घाटन र ¥यालीको आयोजना गर्न उद्यत् रहेकाले मैले त्यसो भनेको हुँ।

अफजलले आफ्नो सहयोगी तथा मित्रलाई रोगको संक्रमण र मृत्युबाट जोगाउन त्यसो भनेका हुन सक्छन्। तर मैले चिनेका आममानिसले आफ्ना आफन्तजनको अन्तिम संस्कारमा एक्लिन नपरोस् भनेर मृत्युको कारण ढाँट्ने गरेका छन्।  

गत महिना कोभिड–१९ का कारण आफ्ना दुई सहकर्मी गुमाएका एक डाक्टरलाई मैले फोन गरेर फेरि सोधें, ‘आखिर मानिस किन ढाँटिरहेका छन् ? ‘मैले पनि ढाँटेको छु,’ उनले भने, ‘मैले अधिकांश मृत्यु सर्टिफिकेटमा मुटुले काम गर्न छाडेको भनेको छु। यसले उनीहरूलाई अप्ठेरोबाट जोगाउँछ।’ उनले थपे, ‘त्यसो गर्दा मृत शरीरलाई जमिनमा पुर्दा कम्तीमा केही मानिसको उपस्थिति रहनेछ।’  
(उपन्यासकार हानिफद्वारा न्युयोर्क टाइम्समा प्रकाशित लेखको अनुवाद)

प्रकाशित: ६ श्रावण २०७७ ०२:०९ मंगलबार

कोरोनाबाट मृत्यु लाञ्छना डर