समाज

ठाउँठाउँमा पहिरो, आठजनाको मृत्यु

धादिङ र चितवन जिल्ला जोड्ने पृथ्वी राजमार्गको भत्किएको पुल। तस्बिर सौजन्य: सन्तोष पौडेल

निरन्तरको वर्षाका कारण गएको पहिरोमा पुरिएर सोमबार काठमाडौं, धादिङ, गोरखा, तनहुँ र दार्चुलामा गरी आठजनाको मृत्यु भएको छ। एक जना घाइते छन् भने दर्जनौं परिवार विस्थापित भएका छन्।  

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरेर एक युवकको मृत्यु भएको छ।  गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

उनका अनुसार आइतबार साँझ आठजना साथी घुम्न गएकोमा गुरुङ शौच गर्न भनेर खोला छेउ जंगलमा पसेका थिए। त्यही बेला पहिरो खस्दा उनको मृत्यु भएको हो।  

यस्तै धादिङमा बाढी र पहिरोका कारण धादिङमा सातवटा घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। गजुरी गाउँपालिका २ स्थित मजुवाडाँडामा पहिरो जाँदा स्थानीय १७ वर्षीय निरुता परिवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।  

त्यस्तै पहिरोले बेनिघाट रोराङ गाउँपालिका ८ धुषाटारमा निशा चेपाङको घर भत्किँदा उनकी ५ वर्षीया छोरी संगीता चेपाङ गम्भीर घाइते भएकी छन्। घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ।  

दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा हरजितसिंह ठगुन्नाकी ४२ वर्षीया पत्नी मानमती ठगुन्ना र मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा बेपत्ता उनीहरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए। पहिरोमा स्थानीय मानसिंह ठगुन्नासहित चारजना घाइते भएका छन्। उनीहरुलाई गाउँलेले तत्काल उद्धार गरेका थिए। पहिरोले गाउँकै समैजी आधारभूत विद्यालय भवनसमेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए।

उता गोरखामा पहिरोले घर पुरिँदा गण्डकी गाउँपालिका ४ फुजेलकी ३६ वर्षीया लक्ष्मी गुरुङको ज्यान गएको छ। पहिरोले खोर भत्किँदा बाख्रालाई घाँस हाल्न गएकी उनी पुरिएको प्रहरीले जनाएको छ। खोरमा रहेका आठवटा बाख्रा समेत पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताए।

अजिरकोट गाउँपालिका ४ माउसुली पाखामा रामबहादुर मगरको घर पहिरोले पुरेको छ भने बारपाक सुलिकोट गाउँपालिका ४ का कामी गुरुङ र बिसन गुरुङको घर पहिरोले बगाएको छ।  

पहिरोले घर पुरिँदा तनहुँको भानु नगरपालिका–९ सिमलगैह्राका ८० वर्षीया तिलमाया धौराली र  उनकी नातिनी १५ वर्षीया शीताष्मा धौरालीको मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित: ६ श्रावण २०७७ ०१:३९ मंगलबार

बाढीपहिरो