समाज

केरुङ छ्यो ताल फुट्ने खतरा, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको हो।  ‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकसँग भने, ‘सोही सूचनाका आधारमा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँन अपिल गरेका हौँ। ’

चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको उनले जानकारी दिए।  खासा क्षेत्रमा उच्च वर्षा भइरहेकाले भोटेकोसी नदीको साथै स्थानीय खोल्सीमा वहाव बढेको समेत जनाएको प्रजिअ ढकालले जानकारी दिए।  ‘उच्च वर्षा भइरहे जुनसुकै बेला पनि ताल फुट्न सक्ने समकक्षीले बताएका छन्,’ उनले भने।  

सूचना प्राप्त हुनासाथ स्थानीय प्रशासनले ताल तल्लो तटीय क्षेत्रमा पर्ने भोटेकोसी गाउँपालिका, बाह्रविसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्ना नागरिक जीउधनको सुरक्षा गर्न आग्रह गरेको छ।  स्थानीय तहलेसमेत नदी तटीय क्षेत्रका बासिन्दालाई सूचना प्रवाह गरिरहेका छन्।  ‘सुरक्षित स्थलमा गएर बस्न स्थानीयलाई अनुरोध छ,’ नागरिकन्यूजमार्फत सर्वसाधरणलाई अपिल गर्दै प्रजिअ ढकालले भने।  

२०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्या एको थियो।  त्यति बेला झण्डै डेढ सय घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रविसे–तातोपानी सडक खण्ड तहसनहस बनाएको थियो।  चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रजिअ ढकालले जानकारी दिए।  

 

प्रकाशित: ५ श्रावण २०७७ १३:५० सोमबार