समाज

न्यून चापीय रेखा नेपालतर्फ नजिकियो, वर्षा झनै बढ्ने

वर्षाकाे प्रतिकात्मक तस्बिर

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेको मौसमविद्ले बताएका छन् । यो रेखा जति नजिक आउँछ उति वर्षा बढ्ने भएकाले अब कम्तीमा तीन देशभर वर्षा व्यापक हुने मौसमविद्ले अनुमान गरेका छन् ।  

मौसमविद्का अनुसार यो रेखा आइतबार राति नेपालतर्फ सरेको हो । यो जानकारी जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै विज्ञप्ति जारी दिएको थियो ।  

 

यो पनि पढ्नुहोस्

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

 

शनिबार रातिदेखि नै नेपालमा निरन्तर वर्षा भइरहेको छ । अब झन् वर्षा बढ्ने मौसमविद्ले बताएका छन् ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, २, बागमती, ५ नम्बर, गण्डकी प्रदेशका केही स्थान र सुदूरपश्चिम र कर्णालीका एक वा दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहनेछ भने भारी वर्षा अझ धेरै ठाउँमा हुने सम्भावना छ ।  

बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र गण्डकी र सुदूरपश्चिमका केही स्थान साथै कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।  

बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी दिँदै भनिएको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेशका केही स्थानमा साथै  प्रदेश ५,  सुदस्रपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा  भारी वर्षाको  सम्भावना  रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

यो पनि पढ्नुहोस्

नारायणी नदीले ‘खतरा’ तह नाघ्यो, ‘हाई अलर्ट’ जारी

प्रकाशित: ५ श्रावण २०७७ ०८:५२ सोमबार

वर्षा मनसुन