समाज

पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।  

यो सडक खण्डको कुलुङ क्षेत्रमा झरेको पहिरो पन्छाउनका लागि समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए। यो सडक खण्ड अवरुद्ध भएको समयमा रसुवागढी जलविद्युत् आयोजनाले सडक खुलाउँदै आएको छ। वर्षा भइरहेका कारण सडक खुलाउनका लागि समस्या भएको प्रहरीले जनाएको छ।  

पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्ड भने अवरुद्ध भएको छैन। सडक हिलो भएका कारण सवारी सञ्चालन गर्न भने कठिन भएको छ। 

प्रकाशित: ५ श्रावण २०७७ ०४:४४ सोमबार

रसुवागढी नाका