समाज

२०७६/७७ मा उदयपुर अदालतका ६ सय ५९ मुद्दा किनारा

उदयपुरमा आर्थिक वर्ष ०७६/७७ मा साढे ६ सयबढी मुद्दा किनारा लागेको छ । जिल्ला अदालतले सार्वजनिक गरेको ‘वार्षिक मुद्दा फर्छ्यौट विवरण’ मा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधलगायत बिबिध मुद्दाहरु द्रुतगतिमा छिनोफानो भएको उल्लेख छ । कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ११ देखि देशभर लकडाउन जारी हँदा चैत १५ गतेसम्म भएका अदालती गतिबिधिको विवरण मात्र समावेश गरिएको अदालतले जनाएको छ ।

वर्षेनी अदालतले गर्ने ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम’ अनुसार वर्षभरी सम्पादित कामकारवाहीको विवरण सार्वजानिक गर्दै मुद्दााको अवस्थाबारे जानकारी दिइएको हो । पछिल्लो केही वर्षयता बढ्दै गएको सम्बन्ध विच्छेद, जवरजस्ती करणी र लागुऔषधका मुद्दा आव ०७६/७७ मा पनि बढ्ने क्रम कायम रहेको अदालतको भनाई छ । ०७६/७७ मा सम्बन्ध विच्छेदको लगत २ सय १८ रहेकोमा १ सय ४९ फर्छ्यौट भएको छ । लागुऔषध ८३ मध्ये ५२ फर्छ्यौट हुँदा जवरजस्ती करणीका ६२ मध्ये २२ किनारा लागेको स्रेस्तेदार राजकुमार आचार्यले बताए ।  

उनका अनुसार तुलनात्मक रुपमा ३ वर्षको अवधिमा अप्रिय र असामाजिक घटनाको पारो चढ्दै गरेको अदालती तथ्यांकले देखाएको छ । ०७६/७७ को दाँजोमा गम्भीर प्रकृतिका मुद्दा बढेको ३ वर्षको आँकडाले देखाएको आचार्य बताउँछन् । आव ०७५/७६ मा सम्बन्ध विच्छेदको लगत २ सय ४१ हुँदा १ सय ७९  फर्छ्यौट भएका थिए भने लागुऔषधको ५२ मध्ये ११ र जवरजस्ती करणीका ५३ मध्ये ३५ फर्छ्यौट भएका थिए । यी प्रकृतिका मुद्दाहरु आव ०७४/७५ मा कमै थिए । सो वर्ष सम्बन्ध विच्छेदका १ सय ५८ मध्ये १ सय ३३ फर्छ्यौट भएका थिए भने लागुऔषधका ८० मध्ये २९ र जवरजस्तीका ५२ मध्ये ३१ किनारा लागेको आचार्यले बताए ।

अदालतको त्रि–वर्षीय तथ्यांकमा घरेलु हिंसा, मानाचामल र मानव बेचविखनका मुद्दा भने सरल रेखामै रहेको देखिएको छ । ०७६/७७ मा यी प्रकृतिका मुद्दाहरु क्रमशः ९, १२ र १ वटा दर्ता भएको देखाइएको छ । जसमध्ये फर्छ्यौट संख्या क्रमशः २, ७ र १ रहेका छन् । ०७५/७६ मा यी मुद्दाहरु क्रमशः ५, १३ र १ थिए भने मानाचामलका ५ फर्छ्यौट हुँदा घरेलु हिंसा र मानव बेचविखन मुल्तवी राखिएको आँकडाले देखाएको छ । त्यस्तै आव ०७४/७५ मा घरेलु हिंसाका १० मुद्दामध्ये ४, मानाचामलका १० मध्ये ५ र मानव बेचविखनका २ मध्ये दुईवटै फर्छ्यौट भएको अदालतको तथ्यांकले देखाएको छ ।

स्रेस्तेदार आचार्यले लकडाउनका कारण लक्ष्य अनुसार मुद्दा फर्छ्यौट गर्न नपाएको बताए । उनले सम्बन्ध विच्छेदका ६९, लागु औषधका ३१ र जवरजस्तीका ४० मुद्धा चालु आर्थिक वर्षमा अल्या (सरेको) भएको बताउँदै घरेलु हिंसा, मानाचामल र मानव बेचविखनका मुद्दाहरु क्रमशः २ र ७ वटा अल्या भएको जानकारी दिए । यसरी जम्मा मुद्दा १ सय १९ मुद्दा चालु वर्ष सरिआएको आचार्यले बताए । जसमा बालबालिकातर्फ अघिल्लो वर्षको २३ सहित ६३ मध्ये ३० वटा फर्छ्यौट भएर बाँकी ३३ वटा अल्या भएको छ ।

दुई बेन्च रहेको जिल्ला अदालतमा न्यायाधीशद्वय दीपक खनाल र मनोज केसीलाई प्रतिबेन्च ५ सय ७८ वटाको अनुपातमा फैसला गर्ने जिम्मेबारी परेको अदालतले जनाएको छ । अदाललतले ६४ प्रतिशत फर्छ्यौटको वार्षिक लक्ष्य राखेकोमा ५७ प्रतिशत मात्र पुगेको जनाएको छ । चैत ११ देखि जारी लकडाउन ४ महिनासम्म कायमै रहँदा लक्ष्य चुम्न नसकेको आचार्यले बताए । अदालतका अनुसार ८ सय १६ मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्यलाई कोरोनाले ६ सय ५९ मा सीमित गरेको हो ।

लकडाउनका बेला पनि ८५ वटा मुद्दा दर्ता भएको र जसमध्ये ११ को फैैसला भएको छ । लकडाउन अवधिमा जवरजस्ती करणी २१, लागु औषध २३ र ठगीका १० मुद्धा दर्ता भएको अदालतले जनाएको छ । ०७६/७७ मा नयाँ ७ सय ९८ र अघिल्लो वर्षदेखि सरिआएका ३ सय ५८ गरी १ हजार १ सय ५६ मुद्दा दर्ता भएको अदालतको तथ्यांकले देखाएको छ ।

प्रकाशित: ४ श्रावण २०७७ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App