समाज

प्यूठान ट्याक्टर दुर्घटनाः मृतक सातै जनाको सनाखत (अपडेट)

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। प्यूठान स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ स्थित रुमाले भन्ने स्थानमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले बताए।

गएराति ११ वजेतिर भएको दुर्घटनामा परि सातै जनाको घटनास्थलमै मृत्यु भएको थियो। ट्याक्टरमा ८ जना सवार रहेको र एकजना भने सामान्य घाइते भएका छन्। मृतकहरु सबै रोल्पाका मजदुरहरु हुन्। उनिहरु रोल्पा रुन्टीगढी गाउँपालिका ५ का ६ जना र रोल्पाकै त्रिवेणी गाउँपालिका एकजना चालक हुन्।  

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत, वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवर छन्।

 

यो पनि पढ्नुहोस्

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

 

स्वर्गद्धारी मन्दिर नजिकै रहेको धरमपानी बजारबाट भिंग्रीतर्फ फर्किरहेको अवस्थामा ट्याक्टर दुर्घटना भएको हो। सडक निर्माणको काम गर्ने उनीहरु त्यहि सडक निर्माणको काममा खटिएका मजदुरहरु हुन्। सडक निर्माणको काम गर्ने मजदुरहरु साउने सङ्क्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनमा परेको थियो।  

ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा रोल्पाकै विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन्। घटनास्थलमा प्रहरी, स्थानीय, नेपाली सेना आइतबार सबेरै पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर झण्डै तीनसय मिटर तल खसेको छ। राति बाक्लो हुस्सु लागेका कारण चालकले बाटो नदेखेर ट्याक्टर भिरबाट सोझै तल खसेको प्रहरीको अनुमान छ।

प्रकाशित: ४ श्रावण २०७७ ०४:५३ आइतबार

ट्याक्टर दुर्घटना