समाज

सीमा क्षेत्रमा श्रृंखलाबध्द झडप र आक्रमण

सुनसरीको सीमावर्ती क्षेत्रमा श्रृखलाबध्द रुपमा झडप तथा आक्रमणका घटनाले प्रहरी र स्थानीयबीच असमझदारी हुने गरेको छ । शुक्रबार राति तस्कर र सशस्त्र प्रहरीबीच सुनसरीकै हरिनगर वडा नं. को मोहरम चौकमा झडप हुँदा दुई जना घाइते भए । प्रहरीको गोली लागेर स्थानीय सवाज अन्सारी घाइते भएका छन् । तस्करको आक्रमणबाट सशस्त्र प्रहरी जवान जीवराज विशंखे घाइते भएका छन् । 

झडपमा परि घाइते भएका सवाजको पेटमा गोली लागेको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार अप्रेसन भएको छ । अप्रेसनपछि अहिले आइसियूमा राखिएको छ । प्रहरी जवान विशंखेको टाउकोमा गहिरो चोट लागेको छ । उनको पनि धरानमै उपचार भइरहेको  छ । 

राति ८.३० बजेतिर १२ देखि १५ जनाको संख्यामा रहेको तस्कर समूहले भारतीय बजारबाट भन्सार छली समान ल्याउने क्रममा सशस्त्र प्रहरीले सामग्री नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । ‘सामान ल्याउने क्रममा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरि हतियार नै खोस्न खोजेपछि गोली चलाइएको हो,’ सशस्त्र प्रहरीको वराह बाहिनी प्रदेश नं. १ पकली सुनसरीका डिआइजी नरेन्द्र थापाले भने, ‘हाम्रो त्यहाँ जम्मा नौ जनाको टोली बस्छ, अब डियूटीमा बाडिएर खट्दा कमै थिए । उत्ताका १५ जना हाराहारी थिए ।’ 

तस्कर समूहले सशस्त्र प्रहरीलाईं बाँसको भाटा, इँट्टा, ढुंगालगायतले आक्रमण गरेका थिए । घटनापछि शनिबार विहान स्थानीयले केहीबेर प्रदर्शन गरे । घटनापछि स्थानीयले शनिबार बिहान केही बेर प्रदर्शन गरे । तर, नागरिकको जीउँ धनको सुरक्षाका निम्ति खटिएको प्रहरीमाथि तस्कर समूहले आक्रमण गर्नु गलत भएको भनी गाउँपालिका अध्यक्ष गफार अनसारीले सुल्झाएपछि प्रदर्शन रोकियो । 

सीमावर्ती क्षेत्रमा घटना हुने क्रममा बिहीबार राति हतियारधारी समूह र प्रहरीबीच भारतीय सीमा क्षेत्र नजिकै गोली हानाहान भयो । गोली हानाहानपछि दुई जना हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरियो । अन्य तीन जना भने भाग्न सफल भए ।

देवानगञ्ज वडा नं. ३ पानी टंकीमा भएको गोली हानाहानमा देवानगञ्ज वडा नं. २ का २३ वर्षे पिन्टु यादव र सोही ठाउँका २२ वर्षे राजेश यादव पक्राउ परेका छन् । पक्राउ परेका दुवै जना घाइते भएका छन् । यी दुवै जनाको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । पिन्टु यसअघि पनि चोरी र डकैती मुद्दामा पक्राउ परि कैद सजाय भोगेर छुटेका हुन् भने राजेश पिन्टुका साथी हुन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गएको प्रहरी निरीक्षक सरोज खनालको प्रहरी गस्ती टोलीले नेपाल–भारत सीमाको दस गजाभन्दा पाँच सय मिटर माथितिर दुईवटा मोटरसाइकलमा पाँच जनाको संख्यामा आएको समूहलाई रोक्दा फायर खोलेपछि प्रहरीले पनि काउन्टर फायर खोलेको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद शर्माले हतियारी समूहले प्रहरीलाई निसाना बनाएर फायर खोलेपछि प्रहरीले काउन्टर फायर खोलेको बताए ।

‘पाँच जना दुईवटा मोटरसाइकलमा माथितिर आएपछि प्रहरीले रोक्न खोज्दा फायर खोले त्यसपछि प्रहरीले पनि काउन्टर फायर खोल्यो,’ शर्मा भने, ‘त्यसपछि तीन जना भारततर्फ भाग्न सफल भएपनि दुई जना भने घाइते अवस्थामा पक्राउ गर्न सफल भयौं ।’ पक्राउ पर्नेका साथबाट प्रहरीले अटोमेटिक यूएसए पेस्तोल एक थान, छ थान गोली, दुईवटा म्याजिन, बीआर ३८ भी ३५२८ नम्बरको भारतीय मोटरसाइकल र अर्को एउटा अनटेस्ट मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

त्यसो त २०७५ असोज ४ गते भारतीय हतियारधारी समूहले नेपाल आएर सुनसरी हरिनगरको भूटाहाका विद्यालय सञ्चालकलाई हत्या गरे । चार जनाको संख्यामा आएको हतियारधारी समूहले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए ।

रैयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० वर्षीय खुर्सिदको हत्या भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । २०७५ सालकै साउन ९ गते भारतबाट नेपाल खसी ल्याउने क्रममा हरिनगर वडा नं. ७ को सीमावर्ती क्षेत्रमा स्थानीयबासी र सशस्त्र प्रहरीबीच झडप भयो । घुस्की वडा नं. ७ मै घर भएका खसी व्यापारीलले भारतबाट नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो ।  

सशस्त्रले खसी ल्याउन नदिएपछि घुस्कीका स्थानीयबासीले जवरजस्ती खसी तानेर नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरीसँग निकैबेरसम्म झडप हुन पुगेको थियो । झपडपछि स्थिती नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।  

२०७५ सालकै शुरुवातमा भन्सार छली सामान नेपाल भित्र्याउदा घुस लिने सशस्त्र प्रहरीका निरीक्षक काले बमजनसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो  । यसरी सीमावर्ती क्षेत्रमा एकपछि अर्को घटनामा बेला–बेलामा झडप हुने गरेको छ । झडपले गर्दा स्थानीय र प्रहरीबीच असमझदारी पनि हुने गरेको छ ।

प्रकाशित: ३ श्रावण २०७७ ११:२२ शनिबार

आक्रमण सीमा क्षेत्रको सुरक्षा श्रृंखलाबध्द झडप