समाज

पीडितका सारथि ताराबहादुर

एक ठेकेदारले टेकुमा उनलाई दिनभरि घर बनाउने काममा भिडाए। त्यहा“को काम सकिएलगत्तै थप २ रुपैयाँ दिने आस देखाएर एक बोरा सिमेन्ट असन पु-याइदिन लगाए। उनले नाइँनास्ती गरेनन्। तर, बेलुकी ज्याला दिने बेला ठेकेदार नै गायब। दिनभरिको १० र थप २ गरी १२ रुपैयाँ पारिश्रमिक हात नपर्दा उनलाई कम्ती दुःख लागेन। तर सहिदिनुभन्दा बाहेक कुनै उपाय थिएन। निरास हुँदै डेरा फर्के।। समाजसेवी एवं व्यवसायी ५५ वर्षीय ताराबहादुर कँुवर चार दशकअघि आफूले भोग्नुपरेका यस्तो पीडा कहिल्यै बिर्सन्नन्।  

कुरा २०३३ सालको। काठमाडौंमा काम गर्दै पढ्न पाइन्छ भनी सुनाएका आफ्नै दाइलाई ताराबहादुरले ११ वर्षकै उमेरमा पछ्याए। काभ्रपलाञ्चोकबाट काठमाडौं छिरेलगत्तै दाइ बेखबर भए। उनी अलपत्र परे। त्यसपछि आफूले भोग्नुपरेको दुःख व्यक्त गर्ने शब्द नै नभएको उनी बताउँछन्। बिरानो सहरमा कस्ले खानबस्न दिन्थ्यो र ! पीडाले गाँज्दै ल्याउँदा उनी अलिकति आत्तिए तर विचलित भएनन्। परिस्थितिले सिकाएको जीवनको पाठ पढ्दै अघि बढिरहे। परिस्थिति प्रतिकूल भए पनि कर्मको पूजा गर्न छाड्नुहुँदैन भन्ने मान्यतालाई उनले मर्न दिएनन्। फलस्वरूप उनलाई अहिले सम्पन्नताले पछ्याएको छ।

काठमाडौं आएलगत्तै सकी नसकी ज्यामी काम गरेर बाँचेका उनी अर्काको घरमा काम गर्न पनि बसे। केही समय ठेलागाडा ठेलेका उनले रिक्सा मात्र चलाएन्, टेम्पो पनि कुदाए। पछि ट्याक्सी हुँदै एक्साभेटर चालक भएका उनी अन्ततः त्यसका मालिक नै भए।  

पढ्न पाइने ठानेर २०३५ सालतिर उनले कमलपोखरीस्थित दीपकबहादुर थापाको घरमा श्रमिकका रूपमा रहे। डिल्लीबजारस्थित विजय स्मारक माविमा पढाइ नथालेका होइनन् तर कक्षा ६ भन्दा माथि निरन्तरता दिन सकेनन्। १९ महिना काम गरेपछि २०३७ सालमा उनले सुरुदेखिको पारिश्रमिक ९५ रुपैयाँ लिएर थापाको घर छाडे र टेकु सरे। त्यसपछि उनको सहारा बन्यो ठेलागाडा। पढाइ सपार्न सकिन्छ भनेर विकल्प खोजेका उनले कसैगरी त्यसलाई गति दिन सकेनन्। दिनभरि ठेलागाडा गुडाउँथे। ठेलामा नचलेको दिन टेकुआसपासमा इँटा बोक्ने र घर बनाउने काममा खट्थे।  

काठमाडौं आएलगत्तै सकी नसकी ज्यामी काम गरेर बाँचेका उनी अर्काको घरमा काम गर्न पनि बसे। केही समय ठेलागाडा ठेलेका उनले रिक्सा मात्र चलाएन्, टेम्पो पनि कुदाए। पछि ट्याक्सी हुँदै एक्साभेटर चालक भएका उनी अन्ततः त्यसका मालिक नै भए।  

२०४० सालमा उनी रिक्सातिर लागे। दिनरभरि रिक्सा चलाउने उनी रातभरि ‘सेकुरिटी गार्ड’को काम गर्थे। निद्रादेवीले शरीरमा प्रवेश माग्थ्यो तर जिन्दगीमा केही गर्छु भन्ने उनको अठोटसामु त्यो घुँडा टेक्न बाध्य हुन्थ्यो। त्यसपछि पनि ताराबहादुरले के मात्र गरेनन्, फुर्सदमा लुगा सिलाए, सडकपेटीमा लगेर बेचे। लामो समय संघर्ष गर्दा पनि सोचेजस्तो भने हुँदै भएन। पटकपटक आएको दुःखको भेलले उनको सपना बगाउन खोज्यो। तर पीडाको लेखाजोखा राख्नतिर उनी लाग्दै लागेनन्। स.घर्षशील पाइला चाल्दै जाने क्रममा तीन–चार वर्ष रिक्सा चलाए। त्यसपछि बाँच्ने आधार टेम्पोलाई बनाए। तीनपांग्रेपछि उनको मन चारपांग्रेतिर तानियो। केही समय ट्याक्सी कुदाएपछि मिनी ट्रक, ट्रक, टिपर हाँके। जेसिभी, एक्साभेटर, बुलडोजर हुँदै क्रेनसम्म चलाए। हिजो असिनपसिन हुँदै ठेलागाडा ठेल्ने ताराबहादुर अहिले करोडौं सम्पत्तिका मालिक र सयौंका रोजगारदाता बनेका छन्।  

ठेलागाडा गुडाउन थालेदेखि उनले थोरबहुत रकम बचाउन थाले। घरमा आवश्यक पर्दा अलिअलि पठाउँथे। पसिनासँग साटेको पैसाको मूल्य उनले राम्रैसित बुझेका थिए। कडा परिश्रम गर्दै अघि बढेका उनी काठमाडौं छिरेको झन्डै २० वर्षमै ठूलै सम्पत्तिका मालिक बने। हिजो आफू कस्तो धरातलबाट उठेको भन्ने नभुलेकै कारण ‘मालिकको जस्तो रवाफ’ भने आफूमा नभएको उनी बताउँछन्। अहिले जति सम्पन्न भए पनि उनी गरिबीमा छटपटाउँदाको विगत सम्झन्छन् र आफूलाई विपन्नसँग दाँज्छन्। त्यसो त ताराबहादुर गाउँमा केही नभएर काठमाडौं आएका थिएनन्। गाउँमा गरिखान पुग्ने सम्पत्ति थियो। तर, पढ्ने सपनाले गाउँमा बस्न नदिएपछि सानैमा काठमाडौं हानिएका थिए। आफूलाई बदलेरै छाड्ने उत्कण्ठाले उनलाई दुःखसँग सम्झौता गर्न सिकायो। त्यसले नै उनलाई उनी सम्पन्नतातर्फ डो¥यायो।

दुःखको गोरेटो हिँडेरै सम्पन्नता प्राप्त गरेकाले उनी दीनदुःखीको सहयोगमा दिल खोलेर लागिपरेका छन् र आफू मनकारी भएको प्रमाणित गरेका छन्। कोभिड–१९ का कारण निम्तिएको लकडाउनलगायत अन्य जटिल परिस्थितिमा उनले धेरैजनाको भोक टारिदिए। लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेदेखि अन्य असहायलाई कति बोरा चामल र अन्य खानेकुरा कति वितरण गरे भन्ने हिसाबै उनीसँग छैन।  

काठमाडौंको बाफलस्थित आफ्नै घरमा उनको करौडौंको व्यापार छ। जुम्ल्याहा छोराले उनलाई व्यवसायमा सघाइरहेका छन्। उनी त्यतिबेला काठमाडौं आउँदा आफन्त कोही थिएनन्। धेरै दिन रोएर काटे। ‘मलाई धेरैले रुवाएँ तर म अरू रोएको देख्न सक्दिनँ,’ उनी भन्छन्, ‘त्यतिबेला मलाई बाटो देखाइदिने मान्छे कोही भएनन्। भएका एक दाजु पनि बहुदलका लागि भएको आन्दोलनमा गुमाउनुप¥यो। मैले जस्तै दुःख कसैले नपाओस् भनेर समाजसेवामा लागेको छु।’ लकडाउनका बेला बिचल्लीमा परेकालाई  सहरका हुनेखाने भनाउँदाले  नहेरेको देख्दा चित्त दुखेको उनी बताउँछन्। ‘सहरमा धनीधनी मान्छे छन् तर उनीहरूको मन भने धेरै साँघुरो रहेछ। धनीले मन फुकाएर सहयोग गरेको भए लकडाउनमा कोही भोको पर्दैनथे।’ मजदुरी गर्ने र विपन्नताले थलिएकाहरूको दुःख देखेपछि उनले लकडाउन सुरु भएयता १४ पटक राहत बाँडे। हजारभन्दा बढी परिवारलाई भोको हुनबाट बचाएर उनले आफ्नो मनकारी मनलाई सार्थक तुल्याए।

सामाजिक कर्ममा उनको अग्रसरताले उल्लेखनीय उचाइ बनाएको छ। उनले हरेक शनिबार चक्रपथ सरसफाइको अभियान चलाउँदै आएका छन्। कैयौं मजदुर तथा व्यवसायीको संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् र उनीहरूको संकटका सारथि बनिदिएका छन्।

ताराबहादुरले बाफलमा हजुरलाई नमस्ते टे«ड लिंक प्रालि नामक कम्पनी चलाएका छन्। उक्त कम्पनीले इकुपमेन्ट, लुब्रिकेन्ट्स र मेसिनरी पार्टपुर्जा, कस्मेटिक सामग्री बिक्री गर्दै आएको छ। भूकम्पका बेला घाइते भएका उनी बैसाखी टेकेर उद्धारमा जुटेका थिए।

यसबाहेक उनका एक दर्जनभन्दा बढी एक्साभेटर र डोजर छन्। त्यसमा कैयौं मजदुरले काम पाएका छन्। ‘मैले जति गरेको छु, मेरा लागि मात्रै होइन,’ उनी भन्छन्, ‘धेरैलाई रोजगारी दिएको छु।’ धेरै पढ्ने रहरलाई पूरा गर्न नसकेका ताराबहादुरले गरेको संघर्ष र सफलताको प्रमाण उनको व्यवसाय मात्रै होइन, चार छोरी र दुई जुम्ल्याहा छोराको फरकफरक विषयको पढाइ पनि हो। ‘कसैलाई नरुवाई निरन्तर काम गर्दै आएपछि राम्रै फल पाइँदोरहेछ,’ उनी भन्छन्, ‘छोराछोरीलाई पनि कर्मशील  बनाउन सकेको छु।’ भूकम्पमा बेला धेरै ठाउँमा डोजर र एक्साभेटर निःशुल्क प्रयोग गर्न दिएको उनी बताउँछन्।

प्रकाशित: ३ श्रावण २०७७ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App