समाज

समृद्ध र हरित त्रियुगा अभियान सुरु

सालका बिरुवा रोपेर हरियाली अभियान सुरु गर्दै त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी र नेपाली कांग्रेसका नेता अर्जुन खड्का । तस्बिर: महेश्वर

त्रियुगा नगरपालिकाको ‘हरित नगर अभियान’ कार्यक्रमअन्तर्गत बिहीबार १० हजार बिरुवा रोपिएको छ । ‘स्वस्थ, शिक्षित र उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी र समृद्ध त्रियुगा नगर’ भन्ने नाराका साथ नगरपालिकाका सबै वडामा बिरुवा रोप्ने अभियानस्वरुप वडा नं १२ को विसनपुरमा बिहीबार विभिन्न जातका १०  बिरुवा रोपिएको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, प्रहरी, प्रशासन, सेना, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, अधिकारकर्मीलगायत सर्वपक्षीय उपस्थितिमा विसनपुरको त्रिवेणीटोलस्थित निर्माणाधीन हरियाली पार्कमा बिरुवा रोपेर हरित अभियानको शुभारम्भ गरिएको हो । हरियाली पार्कमा मलेसियन जातको सालका बिरुवा रोप्दै चौधरीले नगरका १६ वटै वडामा वृक्षरोपण योजना अघि सारिएको बताए । नगरपालिकाले हरेक वडालाई हरियाली बनाउने योजनाका साथ वृक्षरोपण अभियान सुरु गरेको प्रमुख चौधरीले बताए ।  

काठका लागि उपयुक्त हुने मलेसियन सालले नदी कटान रोक्न पनि उत्तिकै सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । बिरुवा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति आयोजना एकाइ कार्यालय सलकपुर मोरङले निःशुल्क उपलब्ध गराएको हो । एकाइले त्रियुगाका विभिन्न वडामा रोप्न २५ हजार बिरुवा उपलब्ध गराएको जनाएको छ । बिरुवा नगरभरि रोप्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको विशेष सहयोग रहने तथा डिभिजन वन कार्यालयले प्राविधिक सहयोग गर्ने प्रमुख चौधरीले बताए ।  

विसनपुरमा नगरपालिकाले औद्योगिकग्राम स्थापना गर्न लागेको छ । त्यहाँको नदी उकास र ऐलानी असुरक्षित ४० बिघा जमिनमा औद्योगिकग्राम स्थापना गर्नेगरी संरक्षण गरिएको जमिनमा बिरुवा रोपिएको चौधरीले बताए । उनका अनुसार १६ वडाभित्र साउन पहिलो साताभित्र सबै बिरुवा रोपिनेछ ।  

चालु आर्थिक वर्ष सघन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले हरियाली पार्क निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी नगर प्रमुख चौधरीले दिए । त्रिवेणीटोल हरियाली पार्क र शान्तिधामलाई जोड्नेगरी योजना अघि बढाइएको भन्दै उनले औद्योगिकग्राम नजिकै त्रिवेणी धाम पर्ने भएकाले त्रियुगा नदीभित्र शिवजीको मूर्ति स्थापना गर्ने घोषणा गरे । औद्योगिकग्राममा चालु आवमा ‘फोहोरलाई मोहर’ बनाउने अभियान चलाउने र १५ मेगावाट विद्युत् उत्पादन क्षमताको सोलार प्यानल जडान गर्ने योजना अघि सारिएको जानकारी चौधरीले दिए ।  

उनले त्रियुगा नदीलाई बहुउपयोगी बनाउने थालिएको सरसफाइ अभियानलाई निरन्तरता दिइने बताए । त्रियुगा सभ्यता र विकास कार्यक्रमअन्तर्गत त्रियुगा नगरपालिका–७ कालीखोलामा गत वर्ष मदन भण्डारी पार्क निर्माण गरी सरसफाइ अभियान थालिएको थियो । चौधरीले त्रियुगाको शिरदेखि तीर (दोभान) सम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध निर्माण गर्दै सिँचाइ, विद्युत्, खानेपानी योजना सञ्चालन गर्न अभियानले सहयोग पुग्ने बताए ।  

नदीलाई बहुउपयोगी बनाउन बनाइएको गुरु योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको भन्दै उनले यसबाट त्रियुगा नदी ‘बरदान’ साबित हुने विश्वास व्यक्त गरे । बरुवा र त्रियुगा नदीमा आउने बाढीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।

प्रकाशित: ३ श्रावण २०७७ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App