समाज

अनियमितताको आरोपमा उजुरी बढ्दै

आर्थिक वर्ष सकिदै जादा जिल्लामा अनियमितताका गुनासोहरु सतहमा आउन थालेका छन् । केही दिन अघि ‘दहचौर, भालुमारे, तामखोला, आम्बोट योजना’मा अनियमितता भएको भन्दै छानविन गरिदिन उजुरी परेको लुङग्री गाउँपालिका फेरी बिवादमा तानिएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ६ भन्ज्याङ हुँदै वडा नं. ७ उधिनेढुङ्गा–भैंसीछोपे मोटरबाटो निर्माण योजनामा पनि ठूलो परिमाणामा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको हो ।  

स्थानीयका अनुसार ३० लाखको उक्त योजनामा ३ सय १५ घण्टा मात्र डोजर प्रयोग गरी अन्य रकममा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । ‘लुङ्ग्री गाउँपालिका वडा नं. ६ मा मोटरबाटो निर्माण योजनामा अनियमितता भएको भन्दै मौखिक उजुरी परेको छ ।’ प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले भने ‘छानविनका लागि लुङ्ग्री गाउँपालिकाकालाई पत्राचार गरेका छौं । गाउँपालिकाले प्रारम्भीक छानविन गर्छ । चित्त बुझ्दो भएन भने फेरी हामिले पनि अनुसन्धान गर्छाै ।’  

‘गाउँपालिकाबाट विनियोजित गरिएको ३० लाख बजेटको कार्य उपभोक्ता समिति मार्फत सञ्चालन भएको हो ।’ लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गा खड्काले भने ‘जिल्ला प्रशासन कार्यालयबाट ३ दिन भित्र रिपोर्ट दिनु भनेर पत्र आएको छ । समिति बनाएर पठाएको के भएको हो बुझेर आजै प्रतिबेदन पठाउने छु ।’ उनका अनुसार उजुरी परेपछि सो योजनाको मूल्याङ्कन भुक्तानी रोकिएको छ ।

प्रकाशित: १ श्रावण २०७७ ११:१० बिहीबार

अनियमितता आरोप उजुरी