समाज

सशस्त्रका एसएसपीलाई लाग्यो बलात्कारको आरोप

सशस्त्र प्रहरी बल, हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामपाटन पोखरामा कार्यररत सशस्त्र प्रहरी बलका बरिष्ठ प्रहरी उपरीक्षक (एस.एस.पी) राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । उनलाई चितवन भरतपुरकी एक २७ वर्षीया महिलाले बलात्कारको आरोप लगाएकी हुन् । महिलाले आफूलाई भेट्न बोलाएर लठ्याउने औषधी खुवाएर बलात्कार गरेको बताएकी छन् । पोखरास्थित मामा घरमा आएका बेला आफूलाई बोलाएकाले आफू सशस्त्र प्रहरी कार्यालय गएको उनको भनाई रहेको प्रहरी श्रोतले बताएको छ ।

मंगलबार दिउँसो आफूलाई एसएसपी अधिकारीले बलात्कार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएको बताइएको छ । तर कास्की प्रहरीले भने लिखित नभई मौखिक उजुरी परेको बताएको छ ।

बलात्कारको आरोप लागेका एसएसपी अधिकारीलाई प्रहरीले घट्नास्थल सशस्त्र प्रहरी बल, हुल तथा दंगा ब्यबस्था तालिम शिक्षालय लामपाटनबाट नियन्त्रणमा लिएको छ । कार्यालय भन्दा करिब ३०/४० मिटर पर झाडीमा लुकेर बसिरहेको अवस्थामा आरोपित अधिकारीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी किरण राणाले जानकारी दिइन् । पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरिएपनि अनुसन्धान गर्न बाँकी रहेको उनले बताइन् ।

यसैबीच, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठसहितको टोलीले घट्नास्थलको अवलोकन गरेको छ । शुरुमा डिएसपी सुवास हमालको टोली गएर पक्राउ गरेलगत्तै एसपी नेतृत्वको टोली गएर घट्नास्थलको अवलोकन गरेको हो ।

एसपी श्रेष्ठले आरोपित एसएसपी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको बताए । उनले महिलाको रिपोर्ट आएपछि अनुसन्धान शुरु गरिने जानकारी दिए । यसैबीच, वलात्कृत भनिएकी महिलालाई भने स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित: ३१ असार २०७७ ११:५८ बुधबार

बलात्कारको आरोप