समाज

ताप्लेजुङका थप दुई संक्रमित डिस्चार्ज, थप एकमा संक्रमण

कोरोना जितेकालाई बुधवार पुष्पगुच्छासहित बिदाई गर्दै कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङको टिम। तस्बिर : खगेन्द्र / नागरिक

ताप्लेजुङमा थप २ जना कोरोना संक्रमित निको भएर बुधवार घर फर्किएका छन्। संक्रमित २ सहित ३० जनाको पीसीआर परीक्षणका लागि पठाईएकोमा उनीहरुसहित २९ जनाको परीक्षण रिर्पोट नेगेटिभ र एक  जनाको पोजेटिभ आएको छ। साउदी अबरबाट फर्किएका मेरिङ्देन गाउँपालिकाका ४२ बर्षे पुरुष कोरोना संक्रमित फेला परेका हुन्। उनी यहाँ भेटिएका पहिलो कोरोना संक्रमित संगै क्वारेन्टिनमा थिए। पहिलो कोरोना संक्रमित पनि कोरोनामुक्त भएर घर फर्किएका छन्। 

कोरोना जितेर फर्किएका फुङ्लिङ नगरपालिकाकी एक महिला र पाथीभरा याङ्वरक गाउँपालिकाका एक पुरुषलाई भने सोमवार पुष्पगुच्छासहित बिदाई गरिएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले उनीहरुलाई कोरोना जित्न सफल भएकोमा बधाई दिदैं केहिदिन सर्तकपूर्वक होम क्वारेन्टिनमा बस्न आग्रह गर्दै बिदाई गरेको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,उपप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठ,शसस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति (डिएसपी) यदुकुमार कार्की,राष्ट्रिय अनुसन्धान कार्यालय ताप्लेजुङका प्रमुख दुर्गा चापागाँईसहितले कोरोनालाई जित्न सफल भएकोमा दुबैलाई बधाई दिदैं अझै केहिदिन सावधानीपूर्वक घरमै बस्न आग्रह गरेका छन्। 

ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले उच्च मनोवल र सावधानी अपनाए कोरोनालाई सहजै जित्न सकिन्छ भन्ने उदाहरण पुष्टी भएको बताए। जिल्ला आर्युबेदिक कार्यालय ताप्लेजुङका प्रमुख  टेकनाथ अर्यालले आर्युबेदिक औषधि,उच्च मनोवल र आत्मबिश्वासले कोरोनालाई परास्त गर्न सकिने बताए। संक्रमित पुष्टी भई ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका उनीहरुलाई आर्युबेदिक कार्यालयले गुर्जो,सुठो र पिप्ला सहितको मिश्रण भएको चिया सहितका आर्युबेदिक औषधि समेत दिएको बताएको छ। यसैबीच बुधवार थपिएका १ जना कोरोना संक्रमितलाई अहिले क्वारेन्टिन रहेकै केन्द्र भानुजन माविको आवास कक्षमै राख्ने तयारी गरिएको छ।

प्रकाशित: ३१ असार २०७७ ०९:१७ बुधबार

डिस्चार्ज कोरोना संक्रमित