समाज

सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख श्रेष्ठ घुससहित पक्राउ

अख्तियारको नियन्त्रणमा परेका जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेलका प्रमुख नारायणकाजी श्रेष्ठ । तस्बिर : दमन/नागरिक

जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । जिल्लाकै एक निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एबं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठमाडौंबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार नौ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको हो ।  

कार्यालय प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयसँगै रहेको निवासबाट घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् । ‘स्टीङ अपरेसन’काक्रममा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य जाँच गरी अख्तियारको टोलीले साथैमा काठमाडौं लगेका छन् ।  

श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ । श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राहीबाट अख्तियारमै उजुरी पुगेको जनाइएको छ । श्रेष्ठलाई नियन्त्रणमा लिनेक्रममा जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय सिल गरेर अन्यलाई प्रवेशमा रोक लगाइएको थियो ।

प्रकाशित: ३० असार २०७७ ०७:२१ मंगलबार

घुस सिँचाइ डिभिजन कार्यालय पक्राउ