समाज

एक महिनामा बाढीपहिरोका १४ घटना

८५ जनाको मृत्यु, ४६ बेपत्ता

पछिल्लो एक महिनामा नेपालमा बाढीपहिरो र डुबानका कारण ८५ को मृत्यु भएको छ भने ४६ जना बेपत्ता छन्। गृह मन्त्रालयको जानकारीअनुसार गत जेठ ३१ गतेदेखि असार २९ गतेसम्मका बाढीपहिरो र डुबानका १४ घटनामा ५० जना घाइते भएका छन्। त्यस्तै, एक सय ३४ घरमा क्षति पुगेको छ भने १५ जिल्ला प्रभावित छन्।  

प्रतिनिधिसभा राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकमा गृह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो एक सातामा बाढीपहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ। त्यसमा पनि सबैभन्दा बढी क्षति म्याग्दीमा भएको छ। त्यहाँ पहिरोबाट २८ को मृत्यु, चार बेपत्ता र १२ जना घाइते भएका छन्। पहिरोले ३७ घर प्रभावित भएका छन्।  

यो वर्ष पहिलोपटक जेठ ३१ गते पर्वतमा गएको पहिरोले नौजनाको मृत्यु र एकजना घाइते भए। दुईवटा घर पुरिए। असार ८ गते पाल्पाको तानसेन नगरपालिकामा पहिरोका कारण चारजनाको मृत्यु भयो भने तीनजना घाइते भए। दुईवटा घरमा क्षति पुग्यो। असार १८ गते गुल्मीमा पहिरोबाट चारजनाको मृत्यु, सातजना घाइते र एकजना बेपत्ता भए। पहिरोबाट पाँच घरमा क्षति भयो। असार १९ गते बझाङमा गएको पहिरोका कारण सातजनाको मृत्यु, एकजना बेपत्ता र एकजना घाइते भए। सो पहिरोका कारण १७ घर प्रभावित भए।

असार २५ गते सिन्धुपाल्चोकमा बाढीका कारण तीनजनाको मृत्यु भयो भने २० जना बेपत्ता भए। त्यस्तै पाँचजना घाइते भए र ५० घरमा क्षति पुग्यो। म्याग्दीमा असार २६ गते पहिरोले २८ जनाको मृत्यु, चारजना बेपत्ता र १२ जना घाइते भए। ३७ घर प्रभावित भए। असार २६ गते नै कास्कीमा सात जनाको मृत्यु भयो भने १७ जना घाइते भए। रुकुम पश्चिममा असार २६ गते नै पहिरोले दुई जनाको मृत्यु भयो। सोही दिन जाजरकोटमा ११ जनाको मृत्यु, तीनजना बेपत्ता र दुईजना घाइते भए।  

असार २६ गते गुल्मीमा पहिरोले एकजनाको मृत्यु भयो भने लमजुङमा तीनजनाको मृत्यु भयो र एउटा घर डुबानमा परेको छ। असार २८ गते सर्लाहीमा बाढीका कारण एकजनाको मृत्यु भयो भने संखुवासभामा पहिरोमै परी ११ जना बेपत्ता भए। त्यहाँ आठ घरमा क्षति पुगेको छ। असार २९ गते सोमबार तनहुँमा पहिरोकै कारण ६ जनाको मृत्यु भयो र पाँचजना बेपत्ता भए। अन्य केही जिल्लामा बाढीपहिरोका घटना भए पनि मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ।  

भारतका कारण डुबान: गृहमन्त्री    

गृहमन्त्री रामबहादुर थापाले भारतले नेपाली सिमानासँग जोडेर समानान्तर सडक निर्माण गरेकाले नेपाली भूमि डुबानमा परेको बताएका छन्। सोमबार बसेको समिति बैठकमा गृहमन्त्री थापाले भारतले पटकपटक भएका सन्धिसम्झौता उल्लंघन गरेकाले समस्या आएको बताएका हुन्।

नेपाली भूमि डुबानमा पार्नेगरी भएका भारतीय निर्माणबारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाको भनाइ छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा तराईमा भारतले निर्माण गरेका बाँध र सडकका कारण डुबान भएको विषयमा छलफल भएको उनले दोहो¥याए। भारतले सम्झौताअनुसार काम नगरेको उनले जानकारी दिए। नेपालमा डुबान हुनबाट बचाउन भारतले निकास दिनुपर्ने उनको धारणा छ।  

‘राजनीतिक रूपमा भन्ने हो भने यो हस्तक्षेप हो,’ उनले भने। समितिले यसअघि नै नेपाल–भारत सिमानामा नेपालका तर्फबाट निर्माण भएका संरचना हटाउन र भारतीय पक्षबाट निर्माण भएका संरचना हटाउन पहल गर्न निर्देशन दिएको छ। समितिले बाढीपहिरोको विषयमा विगतमा दिएका निर्देशनको कार्यान्वयन गर्नुपर्ने पनि भनेको छ। बाढीपहिरोको विषयमा स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने सुझाव समितिले दिएको छ।  बाढीपहिरोको अवस्था र उद्धार तथा राहत विषयमा जानकारी लिन समितिले गृहमन्त्रीलाई बोलाएको थियो।  

पूर्वराजा दुःखी

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोले पु-याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। पूर्वराजा शाहले सोमबार विज्ञप्ति जारी गर्दै शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचारको व्यवस्था मिलाउन सरोकार पक्षको ध्यानाकर्षण गराएका छन्।

विनाशको यो घडीमा पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानीका लागि आग्रह गर्दै शाहले भनेका छन्, ‘वर्षाका कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढीपहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनुपरेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनुपरेको र धेरै घरबारविहीन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुःखी छु।’

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउनुपर्ने जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भूक्षयको जोखिम हरेक वर्ष हुने प्रक्रिया हो, त्यसैले यसको रोकथाम र सजगताका निम्ति समयमै पर्याप्त ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ।’

प्रकाशित: ३० असार २०७७ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App