हिमालय पर्वत, जहाँ हामी बस्छौँ, यो विश्वमै सबैभन्दा कान्छो पर्वतमाला हो। विश्वका अन्य पर्वतमाला, जस्तै दक्षिण अमेरिकाको एन्डिज, उत्तर अमेरिकाको रकिज र युरोपका आल्पस पुराना पहाड हुन्, तर हाम्रो हिमालय क्षेत्र सबैभन्दा पछि निर्माण भएको पर्वतमाला हो।
भूगर्भमा रहेको युरोसियन र इन्डियन टेक्टोनिक प्लेटको टकराबका कारण हिमालय पर्वतमाला बन्यो। यो टकराब निरन्तर जारी छ, जसकारण बेलाबेला यस क्षेत्रमा भूकम्प जान्छ। ०७२ मा भूकम्प यसैको परिणाम हो। बुझ्नुपर्ने के हो भने हिमालय क्षेत्र एकैपटक उठेको नभई पटकपटक गरी उठेको हो। पहिले उच्च हिमाल, त्यसपछि क्रमशः मध्यपहाड, महाभारत र चुरेजस्ता शृंखला बनेकाले यस क्षेत्र त्यसै पनि कमजोर छ।त्यसमाथि दुई प्लेटबीचको टकराबले बेलाबेला जाने भूकम्पले पनि हाम्रो क्षेत्र थप कमजोर बनाउनु स्वाभाविकै हो। त्यसो त पृथ्वीको जुनसुकै भू–भागका आ–आफ्नै किसिमका प्राकृतिक समस्या या कमजोरी नभएको होइन, जस्तो ः समुद्र वरपर सुनामी वा समुद्रि आँधी आउने डर, मरुभूमि क्षेत्रमा पानीको अभाव हुनु आदि। तर सभ्यताको विकाससँगै मानिस ती समस्यासँग जुध्दै आएका छन्।
हाम्रो हकमा, एकातिर हाम्रो भू–धरातल कमजोर छ। त्यसमा पनि परिवर्तन भइरहने तातो–चिसो सुक्खा गर्मीका कारण भित्रभित्रै मक्किने, ढुट्टिने भइरहन्छ। त्यसमाथि यहाँ वर्षमा तीन महिना जति प्रशस्त मनसुनको पानी पर्छ। जसकारण हामीकहाँ वर्षामा पहाडी क्षेत्रमा पहिरो खस्छ, भूक्षय हुन्छ भने बेसी र मैदानी भागमा बाढी, कटान, डुबान र फिटान अर्थात् बालुवा थुपर्ने हुन्छ।
हाम्रो पूर्वीय सभ्यता गंंगाको मैदानमा सुरु भएको थियो, किनभने गंगाको मैदान, जसमा हाम्रो तराई पनि पर्छ,जुन अत्यन्त उर्वर माटोले बनेको छ। हजारौँ वर्षदेखि हिमालय पर्वतमालाबाट बाढी–पहिरोका कारण बगेर आएको मलिलो माटो थुप्रन गई यो मैदान बनेको छ । भूक्षय वा बाढीपहिरो प्राकृतिक प्रक्रिया हो। हिमालय क्षेत्रमा यस्तो हुँदैनथ्यो भने गंगाको मैदान बन्दैनथ्यो।
अहिले ग्लोबल वार्मिङका कारण एकैचोटि ह्वार्र वर्षा हुन्छ, भेलबाढी आउँछ र त्यसले कृत्रिम बाटो बनाउन खोज्दा पहिरो खस्छ।
हाम्रा पहाडी भू–भागका कतिपय बस्ती पुराना पहिरोले थुपारेको माटो गेग्रानमाथि बसेका छन्। पहिरो खसेर बनेका यी पाटा खनी–खोस्री गर्न तुलनात्मक रूपमा सजिलो पनि हुन्छ। पहिरोले थुपारेको माटो केही सम्म परेको हुने र पहाडको तल्लो क्षेत्रमा हुने भएकालेवर्षाको पानीले खेती हुन्छ, सिँचाइ सुविधा पनि सहज हुन्छ,त्यसैले प्रायः गाउँ तिनै ठाउँमा बसेको देखिन्छ। अर्थात्, हाम्रा अधिकांश पहाडी गाउँ कुनै समय भू–क्षय भएर बनेको स्थानमा बसेको छ। यस्तो स्थानका कतिपय बस्ती तीन–चार सय वर्ष पुराना छन्।
१७ साउन ०७१ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा पहिरो गयो। त्यतिबेला पहिरोले एक सय ४५ जनाको ज्यान लिएको थियो। त्यहाँ पनि कुनै बेलाको पहिरोले थुपारेको थुप्रोमाथि बस्ती बसेको थियो। त्यस्तो पहिरो कसरी पहिरो खस्यो भन्ने अध्ययन भयो भने अन्यत्र त्यस्ता स्थानलाई पहिरोबाट जोगाउन सघाउँछ। यसबाहेक अधिकांश अन्य पहिरोको हकमा बर्खे भेलले डाँडाको माथिदेखि बगाएको लेदोले क्षति गरेको देखिन्छ।
पहाडी वातावरणको वास्तविकता
पहाडमा बस्ती विकास भएदेखि नै स्थानीय मानिस पहिरोसँग जुध्दै आएका हुन्। तर, आधिकारिक रूपमा यसको वैज्ञानिक पक्षबारे छलफल १९७० को दशकमा मात्र सुरु भयो। सन् १९७२ मा स्टकहोममा पहिलो ‘विश्व वातावरण सम्मेलन’ भएको थियो। उक्त सम्मेलनले विश्वको गरिबी बढ्नु र कृषि उत्पादन घट्नुको एउटा कारण बाढी र भूक्षय पनि भएको तथ्यबारे मन्थन ग¥यो। त्यतिखेर विश्वका धेरै मुलुकमा व्यापक वन विनाश भइरहेको थियो। त्यो सम्मेलनमा वन विनाश र भूक्षयको सम्बन्धमा छलफल भयो। भूक्षय कम गर्न वन जोगाउनुपर्ने कुरालाई जोड दिइयो।
यो सम्मेलनपछि सन् १९७६ मा एरिक पी. एकहोम, जो एक पत्रकार थिए, उनले पुस्तक लेखे, ‘लुजिङ ग्राउन्ड ः इन्भाइरोमेन्टल स्ट्रेस एन्ड वल्र्ड फुड प्रस्पेक्ट्स’, जसमा हिमालयमा भएको वन विनाशका कारण तराई लगायत भारतको बिहार र बंगालदेशसम्म बाढी आउने उल्लेख छ। भूक्षय र बाढीपहिरो कम गर्नलाई वन जोगाउनुपर्छ, वनले भूक्षय रोक्छ भन्ने सोचको विकास भयो, सोही बमोजिम नीति कार्यक्रम बन्न थाले।
भूगर्भमा रहेको युरोसियन र इन्डियन टेक्टोनिक प्लेटको टकराबकारण यस क्षेत्रमा बेलाबेला भूकम्प जान्छ। जसले धरातल कमजोर बनाएको छ। अहिले जलवायुमा आएको परिवर्तनले एकैपटक ह्वार्र भेल आउँछ। हामीले विकास निर्माण गर्दा धेरै ठाउँमा पानीको प्राकृतिक मार्ग बिथोलेका छौँ। जसकारण भेल हामीले नै बनाएका खोँच वा खाल्टा छिरेर पहिरो जाने गर्छ।
यो सोचमा पछि प्रश्न उठ्यो– मानिसको बस्ती वा सभ्यता सुरु नहुँदै प्राकृतिक प्र्रक्रियाले गंगा मैदान, बेसीहरु बनेका हुन् भने वन विनाशलाई भूक्षयसँग जोड्न मिल्दैन कि ! त्यसपछिका समयमा यसबारे छलफल हुँदै आएको छ। तर, हामी अझैसम्म वन विनाशले नै भूक्षय भएको भन्नेमै छौँ। गहिरिएर हेर्दा के देखिन्छ भने वृक्षारोपणले वा वन जोगाउँदा मात्रै भूक्षय रोकिन्छ भन्ने होइन। हालै कुश्माकोदुर्लुङमा गएको पहिरो घना वन क्षेत्रबाट आएको लेदोले भएको थियो। वनका अलाबा अन्य धेरै कुरा पहिरो र भूक्षयसँग जोडिने भएकाले यसको वैज्ञानिक पक्षको थप अध्ययन जरुरी छ।
हाम्रो कमजोर प्राकृतिक भौगोलिक अवस्थामा मानिसले मनलाग्दो ढंगले धरातलीय यथार्थ नबुझी गर्ने विकास निर्माणले भूक्षय, पहिरो बढाएको छ। त्यसका पनि पृथ्वीको जलवायुमा आएको परिवर्तनले समस्या थप जटिल बन्दै छ। ग्लोबल वार्मिङका कारण जलवायुमा परिवर्तन भइरहेछ। पृथ्वीमा सूर्यबाट तातो आउँदैन मात्रै, पृथ्वीबाट तातो फर्कने पनि गर्छ। तर, औद्योगिक क्रान्तिसँगै कार्बनडाइअक्साइडको उत्सर्जन बढदै जाँदा वायुमण्डलमा कार्बनडाइअक्साइड लगायतका हरित गृह ग्यासको घनत्व बढेको छ, जसले पृथ्वीबाट तातोपन फर्कन पाएको छैन र बिस्तारै पृथ्वीको वायुमण्डलको तापक्रम बढ््दै गएको छ। हालसम्म औसत १ डिग्री सेल्सिअस तापक्रम बढिसकेको छ। यसले वातावरणका धेरै कुरामा परिर्वतन देखिएको छ। त्यसमध्ये हामीलाई प्रत्यक्ष असर गर्ने परिवर्तन हो– वर्षाको चरित्रमा आएको परिर्वतन। पहिले झरी पथ्र्यो भने अहिले एकैचोटि ह्वार्र वर्षा हुन्छ, त्यो पनि कुनै निश्चित क्षेत्रमा मात्रै। यस्तो वर्षाले भेलबाढी ल्याउने गर्छ। पनौतीको रोशी खोलामा बाढी आउँदा देखियो, पानी त फुल्चोकीमा मात्रै ओइरिएको रहेछ।
अहिले हामीले विकास निर्माण गर्दा धेरै ठाउँमा पानीको प्राकृतिक मार्ग बिथोलेका छौँ। बाटोघाटो, पुल, भवन निर्माण आदिका कारण हाम्रो जमिनको ढाँचा मात्र फेरिएको छैन, पहिलेदेखि प्राकृतिक रूपमा भेल बग्ने ठाउँमा पनि परिवर्तन आएको छ। अहिले सडक बनाउँदा हामीले कुनाबाट भल ल्याएर एकातिर खसाल्ने गर्छौं। यस्ता भेलले प्राकृतिक रूपमा छरिएर जाने निकास नपाउँदा वा हामीले नै बनाएको कतिपय खोँच वा खाल्टामा सोहोरिएर आउँदा माटोलाई गलाउँछ र पहिरो जाने गर्छ।
भूकम्पले चिरा पारेको स्थानमा भित्रभित्रै रसाएको पानीले जग मक्किएको छ भने त्यो प्र्राकृतिक रूपमै पनि फाट्न सक्छ, सुक्खा पहिरोका रूपमा खस्न खस्छ। फाटेको ठाउँमा वर्षाको भेल पसेर गल्दा पनि पहिरो जान्छ।
स्थानीयवासीको ज्ञान
भूक्षय पहिरोका समस्या न्यूनीकरण गर्न स्थानीय तहबाटै प्रयास गर्नुपर्छ। विकास आवश्यक छ गरौँ, तर त्यसले भेलबाढी, माटो, ढिस्कोको अवस्थितिमा पु¥याउन सक्ने अवस्थालाई ख्याल गरौँ। अहिले वर्षाको चरित्रमा जुन परिवर्तन आएको छ, यसमा अझै कस्तो परिवर्तन आउने हो, यसै भन्न सकिँदैन। यसका लागि धेरै वर्ष अध्ययन गर्नुपर्ने हुन्छ। अर्कोतिर, प्लेटको टकराबको स्थितिलाई हामी परिवर्तन गर्न सक्दैनौँ। तर, यस भू–भागमा सयौँ वर्षदेखि बस्दै आएका स्थानीयवासीलाई आफ्नो भू–भागको माटोबारे धेरै मसिना जानकारी हुन्छ। त्यसैले स्थानीयवासी सजग हुनुपर्छ, आफ्नो ठाउँको बर्खे भेलको व्यवस्थापनमा। तर जलाधार क्षेत्रका सबै स्थानमा स्थानीयवासीको पहुँच नहुन सक्छ, त्यसका लागि राज्यले जिम्मा लिनुपर्छ। प्राविधिकहरुले स्थानीयसँग त्यहाँको अवस्था बुझेर सतर्कता अपनाउन भूमिका खेल्न सक्छन्। तर, राज्यले यसतर्फ ध्यान दिएको पाइँदैन, जुन अत्यावश्यक छ। भूक्षय वा पहिरो हरेक वर्ष व्यहोर्नुपर्ने र केही क्षति गर्ने विषय मात्र होइन, यो हाम्रो विकास र प्रगतिको बाधक हो। यसलाई विकासको अंग बनाउन जरुरी छ।
हाम्रो पहाडी भू–भागमा माटोको गहिराई कम छ। त्यसमाथि अधिकांश बलौटे छ। भेलबाढीको सही व्यवस्थापन भएन, विकास निर्माण गर्दा माटोको अवस्थितिलाई बिगार्न पुग्यौँ, वन विनाश ग¥यौँ भने पहाडी भू–भागमा भूक्षयको समस्या बढिरहन्छ। त्यसैले राज्यले स्थानीयवासीसँगको सहकार्यमा समस्याग्रस्त ठाउँको पहिचान गर्नुपर्छ। भूक्षय हुने गरी विकासका कार्य गरिनुहुँदैन। भूक्षय रोकथामका लागि स्थानीयवासीको सहयोग अत्यन्त महत्वपूर्ण हुन्छ।
सन् १९८६ मा ‘ल्यान्ड रिसर्च म्यापिङ प्र्रोजेक्ट’मार्फत माटोको नक्सांकन भएपछि त्यसलाई अपडेट गरिएको छैन। अवस्थाको अनुसन्धान गरेको छ। त्यस स्तरको माटोको अध्ययन भएको छैन। यस्ता प्राविधिक विषयलाई अपडेट गर्दै माटोको संरक्षण गर्न भूक्षय रोकथामका लागि राज्यले पहल गर्नुपर्छ।
तर यस सम्बन्धमा राज्यको नीति वन जोगाएर भूक्षय नियन्त्रण गर्ने र पहिरो खसिसकेपछि पीडितलाई केही राहत दिनेभन्दा अगाडि बढेको देखिँदैन। बाढी र डुबान
वर्षाको समयमा बेसी, उपत्यका र तराईको मैदानी भागमा बाढीको प्रकोप पनि बर्सेनि आउने समस्या हो। बेसी क्षेत्रमा पनि एकातिर पानीका निकास साँघुरिएकाले छोटो समयमा आउने मुसलधारे पानीले बाढीको समस्या बढेको छ भने तराईमा छिमेकी मुलुकले सीमा क्षेत्रमा बनाएको सडक जस्ता संरचनाले पानीको प्राकृतिक निकासमा अवरोध पुगेकाले विगत केही समययता डुबानको समस्या बढ्दै छ। चुरेबाट निस्कने खोलाहरु पनि गेग्रानले बाढीको पानी फैलिएर बग्दा हिजो सुरक्षित भएका स्थानमा डुबान हुन थालेको छ। नदी किनार कटान र बालुवा थुप्रने अर्काे समस्या हो, जसले तराईका उर्वर भूमि नष्ट हुने क्रम बढेको छ। बाढीको समस्या समाधानमा पनि पानीको निकास नै पहिलो पाइला हो।
(जलाधार विज्ञ उपाध्यासँगको कुराकानीमा आधारित)
प्रकाशित: २७ असार २०७७ ०४:२३ शनिबार