समाज

आठ घरलाई सुरक्षित स्थानमा सारियो, खोलाले बगाउँदा दुई बेपत्ता

लगातार वर्षका कारण जाजरकोटको बारेकोट–४ सार्कीमा पहिरो आएपछि यहाँका आठ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षाका कारण थप पहिरो झर्न सक्ने भन्दै उनीहरूलाई नजिकैको आधारभूत विद्यालयमा सारिएको हो ।

बिहीबार राति गोपाल सार्की र कलु सार्कीका घर पहिरोले बगाउँदा सात जनाको मृत्यु भएको थियो भने पाँच जना बेपत्ता छन् । करिब पाँच सय मिटरमाथिबाटो आएको पहिरोले गाउँमा थप क्षति हुन नदिन आठ घरका २५ जनालाई विद्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरो पीडितलाई गाउँपालिकाले खानको व्यवस्था गर्नेछ । 

‘आठ घरलाई सुरक्षित स्थानमा सारेको छौं,’ उनले भने, ‘जोखिममा रहेका अन्य घरपरिवारलाई पनि सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ ।’ साथै बारेकोट–६ धुममा आएको खहरे खोला बगाउँदा दुईजना बेपत्ता भएका छन् । खोला तर्ने क्रममा २० वर्षीय शिव चलाउने र १२ वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित: २६ असार २०७७ १४:५९ शुक्रबार

सुरक्षित स्थान