समाज

भोंजेगाउँका ११ घर पहिराेको उच्च जोखिममा

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन्। बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर  जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।  

उनका अनुसार भोंजेगाउँका  गमबहादुर कामीको घरको पिंँढी र  आँगन भत्किएको छ। सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ।  

यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ। उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले  अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।  

गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन्। विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको  छ। उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ।  

प्रकाशित: २६ असार २०७७ ०७:२६ शुक्रबार

अविरल वर्षा उच्च जोखिम