समाज

पहिरोले घर बगाउँदा एकको मृत्यु, ११ जना बेपत्ता

तस्बिर : जनक केसी

अविरल बर्षाका कारण जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की टोलमा बिहीबार राति आएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ बेपत्ता छन् । मृतकको पहिचान खुल्न सकेको छैन । पहिरोले स्थानीयका दुईवटा घर पुरेको छ । पहिरोले घर पुर्दा पाँच बालबालिकासहित ११ जना बेपत्ता भएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए । 

प्रहरीका अनुसार पहिरोले घर भत्काउँदा ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की, ११ वर्षीय छोरा अर्जुन सार्की, कलु सार्की, उनकी छोरी १४ वर्षकी तिर्खा सार्की, छ वर्षीय छोरा शुभाष सार्की, कलु सार्कीको दिदीको घरमा पाहुना आएका कुशे गाउँपालिका–९ चौराटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षका गौरी सार्की, १६ वर्षकी कविता सार्की र १८ वर्षका वीरेन्द्र सार्की बेपत्ता रहेका छन् । 

पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । ‘बर्षा भइराखेकाले बेपत्ताहरुको खोजीमा समस्या भइराखेको छ,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले भने, ‘एउटाको शव देखिएको छ, बाहिर निकाल्न सकिरहेका छैनौं ।’ उनले जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको थप बल घटनास्थलतर्फ पठाइएको जानकारी दिए ।

प्रकाशित: २६ असार २०७७ ०६:४८ शुक्रबार

मृत्यु पहिरो घर बगाउँदा बेपत्ता