समाज

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थल सारिँदै

स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ।  निरन्तरको वर्षाले दुबै नदीको बहाव उच्च भएपछि सम्भावित बाढीपहिरोको घटनामा मानवीय क्षति हुन नदिन स्थानीयलाई सुरक्षितस्थलमा सार्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ‘उच्च बहावमा तीव्र गतिमा बहेका भोटेकोसी र सुनकोसीले जुनसुकै बेला खतरा निम्त्याउँने देखियो,’ उनले भने।  

नदी तटीय क्षेत्रका स्थानीयलाई माथि (उच्च भूभाग) तिर गएर बस्न अनुरोध गरिने ढकालले जानकारी दिए। ‘सुरक्षित क्षेत्रमा रहेका आफन्त, नातागोता कहाँ गएर आश्रय लिन भन्छौँ,’ उनले भने। तीन दिनदेखिको अबिरल वर्षाले सुनकोसी र भोटेकोसीको सतह बढेको छ। उर्लिएका स्थानीय खहरे खोल्सी मिसिँदा यी नदी तीव्र गतिमासमेत बहिरहेका छन्। वर्षाले सतह भरिएर नदीले अरनिको राजमार्ग र बस्ती चढ्न खोजेको छ।  

नदीको वहाव बढेसँगै तटीय क्षेत्र तातोपानी, बाह्रविसे, लामोसाँघु, खाडीचौर, सुकेटे लगायत बजारका स्थानीय त्रसित छन्। अझ ठूलो जनधनको क्षति हुने गरी बिहीबार जम्बु र बुल्कुटे गाउँमा निम्तिएको बाढीपहिरोले तल्लो तटीय क्षेत्रमा थप त्रास बढाएको छ।  

जलविज्ञान तथा बाढी पूर्वानुमान शाखाका अनुसार शुक्रबार भोटेकोसी नदी सतहले २.८ मिटर उचाइ लिएको छ। ३.१० मिटर उचाइलाई चेतावनी तह मानिन्छ। त्यस्तै सुनकोसी नदी सतहले ३.९८ मिटर उचाइ लिएको छ। सुनकोसीले ५ मिटर उचाइ लिएपछि चेतावनी तह सुरु हुन्छ।

 

प्रकाशित: २६ असार २०७७ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App