समाज

खानेपानी योजनामा स्थानीयको असन्तुष्टी

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित बिस्काम खोलाको पानी अन्यत्र लैजान लागिएको भन्दै स्थानीयले विरोध सुरु गरेका छन् । स्थानीयसँग समन्वय नै नगरी खोलाको पानी अन्यत्र लैजान लागिएको भन्दै बाकाचोल बहुउद्धेश्यीय सहकारी संस्थामार्फत स्थानीयले विरोध जनाएका हुन् । 

बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र असरलाई ध्यान नै नदिइ माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको सहकारीका सचिव तुलसीराम पुरीले गुनासो गरेका छन् । बिस्काम खोलाको पानी अन्यत्र लैजानका लागि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पारेर बजेट विनियोजन भइसकेपछि मात्र स्थानीयलाई योजनाका बारेमा थाहा भएको सहकारीले जारी गरेको सार्वजनिक अपिलमा उल्लेख छ । 

बिस्काम खोलाको पानी अन्यत्र लैजाँदा चार करोडको खर्चमा बनाइएको सिन्दुरेढुंगा लिदिङ खोला लघु जलविद्युत आयोजनालाई असर पर्ने सचिव पुरीले बताए । यस्तै, साविकको बाकाचोल–२ र ३ का सिँचाइ आयोजना प्रभावित हुँदा कृषि क्षेत्रमा दीर्घकालिन असर पर्ने, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा सञ्चालित लघुजलविद्युत योजना र सिँचाइमा प्रत्यक्ष असर पर्ने सहकारीले उल्लेख गरेको छ । गत असार १८ गतेको वडा परिषदमा वडा सदस्य जयकुमार तामाङले स्थानीय जनतासँग समन्वय र छलफल नै नगरी बिस्काम खोलाको पानी अन्यत्र लैजान लागिएको भन्दै आवाज उठाएपछि मात्र स्थानीयले सो बारेमा जानकारी पाएका थिए । बिस्काम खोलाको पानी ऐसेलुखर्कबजार लगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीयको असन्तुष्टी देखिएको हो ।

ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले भने वडाध्यक्षले गरेको समन्वयका आधारमा माथिल्लो खानेपानी आयोजनाको काम अघि बढाउने तयारी गरिएको बताइन् । ‘योजनाका लागि वडाध्यक्षले समन्वय गरेको भन्ने आधारमा खानेपानी योजनाको काम अघि बढाइएको हो,’ उपाध्यक्ष भुजेलले भनिन्, ‘भएका श्रोत साधनले पुग्छ भने अभाव भएका ठाउँमा लगेर परिचालन गरौं भनेर योजना बनाइएको हो ।’

प्रकाशित: २५ असार २०७७ १३:५१ बिहीबार

खानेपानी योजना स्थानीय असन्तुष्टी