समाज

‘संगठन व्यक्तिगत लहडमा भन्दा पनि संस्थागत निर्णयमा अघि बढ्ने’

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न गर्ने बताएका छन्। विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताएका हुन्।

 सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने उनले बताए। महानिरीक्षक एक्लैले सबै अपेक्षा पुरा गर्न नसक्ने उल्लेख गर्दै उनले  संगठनको महानिरीक्षकको सफलता/असफलता नै संगठनको सफलता असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताए। प्रहरी संगठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडी बढाउने प्रतिवद्धता उनले व्यक्त गरे।  

थापाले संगठनभित्र आफ्नै सहकर्मीहरुलाई व्यवसायिक रुपमा निषेध गर्ने कु संस्कारको अहिले अन्त्य भएको बताए। विगतमा महानिरीक्षकको प्रतिस्पर्धामा हुने गरेको अस्वस्थ प्रतिपस्र्धालाई संकेत गर्दै उनले आफु र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले त्यसलाई तोडेको बताए।  पाल र आफुबीच जो आइजिपी भएपनि सल्लाह र सहयोगमा अगाडी बढ्ने भद्र सहमति भएको खुलासा गर्दै थापाले संगठनको हितका लागि आफ्नो कार्यकालबाट विगतको कु संस्कार तोडिएको बताए।  

गृह सचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी थापा र पालको प्रतिस्पर्धाले संगठनको मूल्य मान्यताको प्रवर्दनका लागि ठूलो सहयोग गरेको बताए। आगामी दिनमा पनि नेतृत्वलाई सफल बनाउन सबैको सहयोग हुने अपेक्षा रहेको उनले बताए। उनले प्रहरी संगठनलाई असर गर्ने कुराहरु नगर्न/नगराउन पनि सबैलाई तयार रहन आग्रह गरे। 

प्रकाशित: २५ असार २०७७ १०:१२ बिहीबार

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री