समाज

पर्यटकका लागि पदमार्ग

फाइल फाेटाे।

रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं २ मा छिपखोला–प्वाङ–गुप्तदह–निगालटाला हुँदै पुप्ता दह, सिस्ने पुग्ने पदमार्ग निर्माण थालिएको छ। जिल्लाको उच्चस्थान सिस्ने–१ र २ मा पर्ने पर्यटकीयस्थल गुप्तदहतर्फको पदमार्गलाई स्तरोन्नति गरी पदमार्ग निर्माण गर्न लागिएको हो।

वडा नं २ को प्वाङ भएर गुप्तदह हुँदै सिस्ने आवतजावत गर्न सहज बाटो नहुँदा अहिले समस्या परिरहेको छ। आवतजावतलाई सहज गराउनुका साथै पर्यटक भित्र्याउन पदमार्ग निर्माणको काम थालिएको हो। गुप्ता दह सिस्ने पुग्नका लागि प्रदेश ५ सरकारले क्रमागतरुपमा पदमार्गको योजना अगाडि सारेको छ। चालू वर्षमा प्रदेश सरकारको ३० लाख रुपैयाँ बजेटमा डिभिजन वन कार्यालय रुकुमपूर्वमार्फत पदमार्ग निर्माणको काम सञ्चालन भइरहेको वन कार्यालयले जनाएको छ।  

चालू वर्षमा सिस्ने– १ को चारसिङग्यदेखि गुप्तादहसम्मको ८८० मिटर बाटो खनिएको छ। यस्तै सिस्ने– २ को खारा–मूलपानी, चाखलिमेला–प्वाङ्गे बिसौना हुँदै गुप्तदहतर्फको भनभनेसम्म एक हजार ९६० मिटर पदमार्ग खनिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुजन राजभण्डारीले बताए।  

छिपखोला–प्वाङगुप्तदह–निगालटाला हुँदै सिस्ने गाउँ खण्डको बाटोको कुनै ठाउँमा साह्रै अप्ठ्यारो रहेकाले पदमार्ग योजनामार्फत बाटोलाई स्तरोन्नति गर्न आवश्यक रहेको राजभण्डारीले बताएका छन्। जिल्लाको उच्चस्थानमा रहेको गुप्तादहमा सिस्ने हिमालको छायाँ देखिने गर्दछ। उक्त ठाउँमा गुप्ता दह र सिस्ने हिमालको अवलोकन गर्न जाने मान्छे बढेको सिस्ने– २ का वडाध्यक्ष जीवन केसीले बताए। सिस्ने– १ जाने र यार्सा मौसममा डोल्पा यार्सा टिप्न जाने रोल्पा, रुकुम, सल्यानलगायत जिल्लाका मानिस उक्त बाटो हुँदै आवतजावत गर्छन्।

प्रकाशित: २५ असार २०७७ ०९:३४ बिहीबार

पर्यटक पदमार्ग