समाज

खानेपानीको समस्या हट्यो

भेरीगंगा नगरपालिका¬–२ कुकुरफालेकी सुशीला रानाले जीवनको अधिकांश समय खानेपानीको जोहोमै बिताइन्। घरदेखि थर्मुरे खोला पुगेर एक गाग्री पानी ल्याउन उनलाई तीन घण्टा लाग्थ्यो। बर्खाको भेलमा खोला पुगेर पानी ल्याउनु झन सकस हुन्थ्यो। अहिले उनको आँगनमै खानेपानी पुगेको छ। एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता मात्रै हटेको छैन्, समयको बचत समेत हुन थालेको छ।

‘पानीको स्रोत भएपनि बजेट अभावमा एक गाग्री पानीका लागि खोला धाउनुपर्ने बाध्यता थियो,’ रानाले भनिन्, ‘नगरपालिकाले आगनमै पानी ल्याइदिएपछि अहिले धेरै खुसी भएको छु।’ आँगनमै पानी आउन थालेपछि समयको बचतसँगै बर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता सधैंका लागि अन्त्य भएको उनी बताउँछिन्। पानी ल्याउँदा लाग्ने समयलाई अहिले तरकारी खेतीमा सदुपयोग गर्ने गरेको रानाको भनाइ छ।

खोलाको धमिलो पानी खानुपर्दा यहाँका स्थानीयवासीमा विभिन्न स्वास्थ्य समस्या हुने गरेको थियो। खोलाका पानीका कारण टाईफाइड, रुघाखोकी, झाडापखालालगायतका समस्या वर्षेनी हुने गरेको स्थानीय देवबहादुर रानाले बताए। घरमै स्वच्छ पानी आउन थालेपछि स्वास्थ्य समस्या पनि कम हुँदै गएको उनको भनाइ छ।

खानेपानी आयोजना सञ्चालनमा आएसँगै धेरै सहज भएको स्थानीय कर्णबीर थामीले बताए। बर्खाको समयमा खोलामा पानी ल्याउन गएका स्थानीय प्रत्येक वर्ष बगेर मृत्यु हुने बाध्यता समेत रहेको उनको भनाइ छ। नगर उपप्रमुख रेणु आचार्यले दुई वर्षभित्र सबै नागरिकहरुको घरघरमा धारा पु¥याउने लक्ष्य नगरपालिकाले राखेको बताइन्।

प्रकाशित: २५ असार २०७७ ०५:०० बिहीबार

खानेपानी