समाज

पोखरा खानेपानी आयोजनाको काम समयमै नसकीने

आयोजनाको मर्दीखोलाको तल्लो क्षेत्रमा निर्माणाधिन फिल्ट्रेसन प्लान्ट। तस्बिर: उमेश पुन/नागरिक

शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेलीले तोकीएको समयमा पानी नपाउने भएका छन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जापानी संस्था जाइकाको अनुदानमा निर्माण भइरहेको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम समयमै नसकिने भएको हो। शुद्ध खानेपानीको पर्खाइमा रहेका पोखरेली नागरिकको पर्खाइ बढ्ने बताइएको छ।  

आयोजनाको काम समयमै सकिने हो भने पोखरेलीले २०७९ मंसीरसम्ममा शुद्ध खानेपानी प्राप्त गर्ने थिए। तर लकडाउनका कारण आयोजनाको काम रोकिँदा थप १ वर्ष आयोजना निर्माणको काम लम्बिन सक्ने खानेपानी संस्थान पोखरा कार्यालयका प्रमुख आशिष कार्कीले बताए। आयोजना निर्माणमा ढिलाइ भएसँगै पोखरेलीको शुद्ध खानेपानी पाउन पहिले तोकीएको समयभन्दा थप १ वर्ष लम्बिने उनको भनाइ छ। ‘आयोजनाको काम लगभग ४ महिना रोकिने भयो,’ उनले भने, ‘यो ४ महिनाले निर्माण सम्पन्न गर्ने समय १ वर्ष पछि धकेलिने पक्का छ।’

२०७६ साल जेठ ३० गते शिलान्यास भएको थियो। अब २०८० साल पुस महिनासम्म शुद्ध खानेपानीका लागि पर्खनु पर्नेछ। आयोजनाको काम अहिलेसम्म २२ प्रतिशत मात्रै सम्पन्न भएको छ। लकडाउन सुरु हुनुअघिसम्म लक्ष्यभन्दा डेढ प्रतिशत बढी काम हुँदै आएको थियो। तर करिब महिनादेखि काम ठप्प हुँदा त्यसको असर निर्माणमा देखिएको छ।  

कोरोना भाइरसका कारण लकडाउन हुँदा साढे ३ महिनादेखि आयोजनाको सबै काम ठप्प छ। लकडाउन सुरु हुनु १÷२ दिनअघि गाउँ फर्केका मजदुर काममा नफर्केपछि आयोजनाको काम रोकिएको प्रमुख कार्कीले बताए।  

आयोजनामा करिब ६ सय जना कामदारले काम गर्दै आएका थिए। जसमध्ये मजदुर ५ सय जना छन् भने परामर्शदाता ५० जना, कन्ट्रयाक्टर प्रोजेक्ट म्यानेजर, इञ्जिनियर, सुपरभाइजरलगायत २२÷२५ जना र जापनिज कन्सल्टेन्ट रहेका छन्। उनीहरू अहिलेसम्म पनि काममा नर्फकेपछि समस्या भएको बताइएको छ।  

अहिले कामदार फर्काउने प्रयास भइरहेको कार्कीले बताए। ‘कामदार फर्काउने निर्णय अबको १÷२ दिनमै हुँदैछ,’ ‘उनले भने, ‘वडाको सिफारिस ल्याइसकेका छौं, स्थानीयकोपनि साथ र समर्थन छ, त्यसैले हामी चाँडै कामदार फर्काउँछौं।’ पोखराका मुख्य सहरी क्षेत्रका सडकमा पाइप बिछ्याउन आएका मजदुरबाट कोरोना सर्ने सम्भावना भएकाले पनि मजदुर फर्काउन समस्या परेको उनले बताए।

पानी प्रशोधनका लागि हेमजा उत्तरतर्फ रहेको याम्दी खोलापारि पोखरा महानगरपालिका–२५ मा निर्माण गरिँदै गरेको सफा पानी ट्याङ्की ९ सय ३० घन मिटरका २ वटा, पानी छान्ने फिल्टर ४.१ करोड लिटरका ६ वटा र फिल्ट्रेसन प्लान्टको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ। पानी वितरणका लागि २०÷२० लाख लिटरको ३ ठाउँमा निर्माणाधीन पानी ट्याङ्की मध्ये पोखरा फुलबारीको ८० प्रतिशत, प्रस्याङको ५ प्रतिशत र कोलपाटनको ओभरहेड पानी ट्याङ्की निर्माणको १५ प्रतिशत सकिएको आयोजनाका साइड इञ्जिनियर सन्तोषकुमार दासले जानकारी दिए।

त्यस्तै पानी वितरणका लागि सडकमा पाइप बिस्तारको काम करिब १५ प्रतिशत सकिएको छ। एक सय किलोमिटर खानेपानी पाइप विस्तार गर्नुपर्नेमा हालसम्म १५ किलोमिटरमा पाइप लाइन विस्तार गरिसकिएको उनले जानकारी दिए।

आयोजना निर्माण भएमा पोखरेलीले खानेपानी धाराबाट पानी प्राप्त गर्नेछन्। जापान इन्टरनेशनल को–अपरेसन एजेन्सी (जाइका)को ४ अर्ब ८१ करोड ३० लाख जापानी यानको लागतमा पोखरा खानेपानी सुधार आयोजना निर्माण भइरहेको हो। यो मेलम्ची खानेपानी आयोजनापछिको नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना हो। पोखरा खानेपानी आयोजना निर्माणको जिम्मा जापानको हाज्मा एन्दो कर्पोरेसनले लिएको छ। आयोजना सम्पन्न भएमा पोखराका–१ देखि १९ नम्बर वडासम्मका स्थानीयवासीलाई नियमित पानी आउने आयोजना कार्यालयको दावी छ।  

प्रकाशित: २५ असार २०७७ ०४:१४ बिहीबार

पोखरा खानेपानी आयोजना