समाज

भूकम्प पीडितलाई निःशुल्क जग्गा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ। उक्त जग्गा जिल्ला आयोजना कार्यान्वयन एकाइले खरिद गरेर पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। सदरमुकाम खाँदबारीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरे।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडित खुशी भएका छन्। १३ परिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गरेको छ। प्राधिकरणले ती परिवारका लागि सडक, पानी, बिजुलीको पनि उपलब्ध गराउने भएको छ। पीडित परिवारलाई दिइएको जग्गा १० वर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने जिल्ला आयोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवीन देवले बताए।  

प्रकाशित: २० असार २०७७ ०६:२४ शनिबार

भूकम्प पीडित