समयमै वर्षा भएकाले पाँचथरमा धमाधम धान रोपाइँ भइरहेको छ । यो वर्ष समयमै पर्याप्त पानी परेकाले किसानले छिट्टै रोपाइँ सुरु गरेका हुन् । जिल्लामा जेठदेखि साउन अन्तिम समयसम्म रोपाइँ हुने भए पनि असारको अन्तिम साता धेरै रोपाइँ हुने गर्छ ।
गत वर्ष खडेरीका कारण रोपाइँ ढिलो गरी भएको थियो । तर, यो वर्ष वैशाखयता पानी परिरहेकाले रोपाइँ गर्न सहज भएको छ । पानी राम्रोसँग परेकाले गाउँमा रोपाइँ छिटो भएको फिदिम–७ का किसान तिलबहादुर नेम्बाङले बताए ।
हालसम्म २३ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले जानकारी दिए । उनका अनुसार पानी समयमै परेकाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको छ । जिल्लामा ८ हजार ७ सय ४३ हेक्टरमा धान खेती हुने गरेको छ ।
प्रकाशित: १९ असार २०७७ १०:२२ शुक्रबार