समाज

आज वर्षा र बाढीको सम्भावना कता-कता छ?

फाइल तस्बिर : वर्षा

आज बिहीबार पनि देशैभर वर्षा तथा बाढी/पहिरोको सम्भावना रहेको भन्दै मौसमविद्ले सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।  

मौसम पूर्वानुमान महाशाखाले आफ्नो ट्विटर ह्यान्डलबाट दिउँसो दिएको जानकारीअनुसार यो खबर लेख्दासम्म प्रदेश ५ को पूर्वी भूभाग, प्रदेश ३ को दक्षिणी भूभाग, प्रदेश २ र प्रदेश १ मा मेघर्जनसहित वर्षा गराउने बादल विकसित भई थोरै स्थानमा वर्षा भइरहेको छ।  

यस्तै महाशाखाले बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसमी बुलेटिनअनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै वर्षाका कारण आज देशका विभिन्न नदीनालामा बाढीको आउने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।  

महाशाखका अनुसार  आज (बिहीबार) र भोलि (शुक्रबार) कन्काई, कमला, बागमती नदीमा बहाव बढ्ने तथा केही साना सहायक नदीमा जलसत सतर्कता तहसम्म पुग्ने सम्भावना छ। तसर्थ यी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।  

 

यो पनि पढ्नुहोस्

सलह मौसम बुलेटिन : यस्तो छ शनिबारसम्म हावाको सम्भावित दिशा र गति

 

प्रकाशित: १८ असार २०७७ ०७:५० बिहीबार

वर्षा बाढी