काठमाडौंवासी मंगलबार आकाशतिर हेरेर रमाए। किनकि ‘बाली र हरियालीलाई पूर्ण क्षति गर्छ’ भनिएको सलह कीरालाई बथानका बथान कागले खाइरहेका थिए।
सलह भगाउन थाल ठटाउने, आगो बालेर धुवाँ निकाल्नेदेखि छर्रा हान्नेसम्मका घरेलु उपाय अपनाएको पाइन्छ। तर काठमाडौंमा त्यस्तो कुनै उपाय गर्नुपरेन।
कागलगायत पन्छीको पर्यावरण सन्तुलनमा विशेष भूमिका हुन्छ नै। अझ हिन्दू समाजले कागलाई पूजा गर्छ। कागको सम्मानमा पर्व नै छ– कागतिहार। सलहको आगमनसँगै काठमाडौंवासीले आफ्नो संस्कृति र जीवनपद्धतिसँग जोडिएका कागको थप महत्व महसुस गर्न पाए।
चराविज्ञ हेमसागर बराल कागजस्ता सबै खालका चराले पर्यावरणलाई नियमित रुपमा सेवा दिएको बताउँछन्। बराल भन्छन्, ‘कागले सलह खाएको त एउटा उदाहरणमात्र हो। यस्ता धेरै चराले सलह खाए होलान्। उनीहरूले आहारामात्र पाएनन्, सलह नियन्त्रणमा पनि सहयोग भयो।’ यस्ता दृष्टान्तले पन्छी मानिसको साथी भएको पुष्टि हुने बराल बताउँछन्। बेलाबखत प्रकृति असन्तुलित बन्दा वा कुनै प्रकोप आउँदा सन्तुलन ल्याउन हरेक प्राणीको भूमिका हुने उनको भनाइ छ।
चराविज्ञ राजेन्द्र गुरुङ पनि चरालाई किसानको साथी मान्छन्। ‘अहिले हामीले सलह खाएको देखेर मात्र महसुस ग¥यौं तर आजसम्म कति रैथाने फट्यांग्रा, कीरा आदि खाए होलान् पन्छीले,’ उनी भन्छन्, ‘सलहलाई त खेद्दै लगेको पनि देखियो। काठमाडौंमा त काग कम थिए। के थाहा, तराईतिर कागले सलहको बथानै फर्काएको पनि हुन सक्छ।’
कागले सलह खाएको एउटा उदाहरण मात्र हो, यस्ता धेरै चराले सलह खाए होलान्। त्यसैले पन्छी मानिसको साथी हो।
राजधानीमा मात्र होइन, सबैतिर सलहको अनुभव केही अनौठो देखियो। धेरैको साझा बुझाइ थियो– सलह आयो भने भुइँको घाँस पनि बाँकी राख्दैन। तर यसविपरीत अहिले सलहको फोटो र भिडियोले सामाजिक सञ्जालमा खुबै चर्चा पाएको छ। मानिसहरू सलहसँग रमाएको देखिन्छ।
सलह नियन्त्रणका लागि बनेको प्राविधिक कार्यदलका सदस्य एवं प्लान्ट क्वारेन्टिन तथा विषादि व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेश अर्याल सलहको अहिलेसम्मको आगमन र क्षतिलाई हेर्दा हतास हुने अवस्था नरहेको बताउँछन्। ‘प्रदेश–५ का केही जिल्लाका बालीमा सामान्य क्षति पु¥याएको खबर आएको छ, बाँकी जिल्लामा सलह पुग्यो तर क्षति छैन,’ उनले भने, ‘अब सलह नथपियोस्, हामी भाग्यमानी पनि भनौं, ठूलो क्षतिबिना सुन्दै आएको सलह देख्न पायौं।’ उनका अनुसार बुधबार साँझसम्म मुलुकभर ५० जिल्लामा सलह पुगेको छ। उनी भन्छन्, ‘दुई दर्जन जिल्लाबाहेकमा सानो संख्यामा सलह पुग्यो। अझ हामीले कल्पनै नगरेको मुस्ताङमा पनि पुग्यो।’
अहिले आचार्यलगायतको टिम ‘सलह अपडेट’ मा खटिएको छ। सलहले नागरिकलाई सचेत र जिज्ञासु बनाएको उनको ठम्याइ छ। ‘हामीलाई सलह पहिचानका लागि कर्णाली कृषि विकास निर्देशनालय र विराटनगरबाट दुईवटा फोटो र भिडियो आए,’ उनले रमाइलो सन्दर्भ सुनाए, ‘ती दुवै फट्यांग्राका बथान थिए, यसले नागरिकमा भएको जिज्ञासा र आतंकलाई दर्साउँछ।’ आचार्य यो समय रैथाने फट्यांग्राले पनि फुल पार्ने र हजार वा १५ सयको संख्यामा हुने भएकाले भ्रममा नपर्न आग्रह गर्छन्।
सलह कहाँ आइपुग्यो भनी जानकारी राख्दाराख्दै थाकेका उनलाई सलह देख्ने मन थियो। उनी भन्छन्, ‘कताबाट आएको हो, टुंगो थिएन तर मंगलबार हामीले पनि देख्यौं।’ मंगलबार कागले सलह खाएको देखेर उनलाई अनौठो लाग्यो। उनले भने, ‘काग पनि यसको नियन्त्रणका लागि सहयोगी रहेछ भन्ने लाग्यो।’
प्रकाशित: १८ असार २०७७ ०१:५४ बिहीबार