समाज

गाउँपालिकाद्वारा विद्यालयलाई अनुदान

लकडाउन चलिरहेको बेला मकवानपुरको मनहरि गाउँपालिकाको शिक्षा समितिको सम्पन्न बैठकले सो गाउँपालिकाअन्तर्गतको विद्यालयको विकासका लागि अनुदान दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाअन्तर्गतका विद्यालयलाई २१ लाख ५२ हजार रुपैयाँ रकम अनुदान दिने निर्णय गरेको हो।

गाउँपालिका शिक्षा शाखा प्रमुख हरिशचन्द्र सापकोटाले विद्यालयको विकासका लागि पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला तथा अङ्ग्रेजी माध्यमका लागि पठनपाठन प्रोत्साहन अनुदान वितरण गर्ने बैठकबाट पारित भएको जानकारी दिए। गाउँपालिकाले त्यहाँको वडा नं ६ सुनाचुरीस्थित राष्ट्रिय माविलाई विज्ञान प्रयोगशाला बनाउन छ लाख ५० हजार रुपैयाँ, मनहरि–७ को विजोनास्थित राष्ट्रिय आधारभूत विद्यालयमा पुस्तकालय निर्माणका लागि छ लाख ५० हजार रुपैयाँ र मनहरि–२ स्थित सीता माविलाई सूचना प्राविधिक प्रयोगशालाका लागि छ लाख ५० हजार रुपैयाँ अनुदान दिने बताइएको छ।

यस्तै अङ्ग्रेजी माध्यम प्रोत्साहनका लागि मनहरिस्थित रोट्री मावि, वडा नं ४ स्थित पशुपतिनाथ मावि र वडा नं ९ स्थित रिशेश्वर अधारभूत विद्यालय तथा वडा नं १ स्थित आधारभूत विद्यालय चक्रीलाई रु ५०/५० हजार दिने निर्णय भएको बुझिएको छ। यसैबीच जिल्लाको पकैया गाउँपालिकाले बिरामीलाई रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र हेटौँडाको सहयोगमा निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। स्थानीय बिरामीले तिनुपर्ने रकम गाउँपालिकाले रक्तसञ्चार केन्द्रलाई तिर्ने सहमति भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले जानकारी दिए। वार्षिकरूपमा एकमुष्ठ रकम रगत उपलब्ध गराएवापत रक्तसञ्चार केन्द्रलाई प्रदान गरिने बताइएको छ।

प्रकाशित: १७ असार २०७७ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App