समाज

बहाना बन्यो कोरोना : सडकमा पोखरी

दाङ भालुवाङ, प्युठान, रोल्पा सडक खण्डको बाटुले नजिकै सडकमा रहेको खाल्डो । तस्बिर : दिनेश/नागरिक

दाङको भालुवाङ हुँदै प्युठान, रोल्पा जोड्ने मुख्य सडक समयमा मर्मत नहुदा समस्या सुरु भएको छ । हरेक वर्ष असार लागेपछि मर्मतमा जुट्ने सडक डिभिजन कार्यालयलाई यो वर्ष कोरोना कहर बहाना भएको हो । भालुवाङदेखि रोल्पासम्म दर्जनौ स्थानमा ठुला ठूला खाल्डाहरु र पहिरो छ भने ठाउँठाउँमा नाला भत्किएर लथालिङ्ग बनेको छ । रोल्पा र प्युठानको सदरमुकाम जोड्ने एकमात्र गतिलो र पक्की सडक सवारी साधन चल्न मुस्किल हुने अबस्थामा पुग्दा समेत मर्मत भने गरिएको छैन ।  

सडक निर्माण तथा मर्मतको सम्पुर्ण आर्थिक अधिकार सहितको स्वामित्व लिएको सडक डिभिजन कार्यालयको गैर जिम्मेवार गतिबिधिले यात्रु र सवारी साधनले हैरानि झेलिरेहका छन् । ‘प्युठान सम्मको सडक मर्मत गरेको छौ । रोल्पातिर कोरोनाका कारणले गरिएको लकडाउले मर्मत गर्न सकेनौ । उतिबेला सिडियोले पास पनि दिएनन् ।’ डिभिजन सडक कार्यालय प्युठानका ईन्जीनियर अरुण खत्री भन्छन् ‘कतिपय ठाउँमा माथिबाट सडक खने पछि तल हाम्रो सडक बिग्रीएको हो ।’ ईन्जीनियर खत्रीले मर्मत गरिसकेको भनेकै स्थानका सडकमा पनि पोखरी जत्रा खाल्डा परेका छन् ।  

खत्रीले गत चैत १० देखि ठाउँठाउँमा सडक सफाई गर्न थालेको भए पनि माथिबाट खनिएका अन्य सडकका कारणले गाह्रो भएको बताए । ‘मर्मतका लागि करिब ५ करोड थियो तर सबै खर्चिन सकिएन । करिब १ करोड खर्चिएर नाला र सडक मर्मत गरिएको हो ।’ सधै भरि ठेक्का बाहेक अन्य तरिकाले काम गर्न नचाहाने डिभिजन सडक कार्यालयले पोखरी जत्रा खाल्डामा एक दुई टिप्पर गिट्टी बालुवा समेत हालेका छैनन् ।  

दुई दिन अघि दाङ हुदै रोल्पा पुगेका पुर्ब सांसद लेखनाथ आचार्यले समयमै सडक मर्मत नहुनु दुखद भएको बताए । ‘सामान्य तरिकाले मात्रै पनि सहज हुने मर्मत त गर्नु पर्छ नि । दैनिक चल्ने सवारी साधनलाई समस्या छ । यहि सडक भएर दर्जनौ बिरामि हिड्छन उनिहरुलाई झनै समस्या पर्छ ।’ आचार्यले थपे ‘सबैलाई कोरोना बहाना बनेको छ तर असारमा कामचलाउ मर्मत र खर्च देखाउने पुरानो परम्परा जस्तै छ ।’

यात्रु जस्तै चालकहरु पनि सधै समस्यामा पर्ने गर्दछन् । सडकमा रहेका ठुला खाल्डा अनि ठाउँठाउँमा गएका पहिरो छिचोल्दै गाडि चलाउनु साह्रै दिक्क लाग्दो हुन्छ । ‘बाटो बन्द नहुदा सम्म मर्मतमा कसैले चासो नै दिदैनन् । मर्मत गर्नलाई पहिरो नै झर्नु पर्छ ।’ सवारी चालक मोती नेपाली भन्छन् ‘गरिएको मर्मत पनि देखाउनलाई मात्रै हुन्छ । राम्रो संग कहिल्यै काम भएको देखिदैन ।’

बर्षातको समयमा ग्रामीण सडकमा समस्या आउनु सामान्य जस्तै भए पनि जिल्ला जोड्ने मुख्य सडक नै अस्तब्यस्त रहने गरेको छ । सडक डिभिजन कार्यालयले यो बर्ष मर्मत गरेको भनेकै खण्डमा बढि सडक बिग्रीएको भए पनि सरोकारवाला निकायले पनि त्यती धेरै चासो दिएर हेरेको देखिदैन । सडक बिग्रीएको जानकारी पाएका रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले सडक डिभिजन कार्यालयलाई तुरुन्तै सडक मर्मतका लागि निर्देशन दिईने बताए । 

प्रकाशित: १५ असार २०७७ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App