समाज

दार्चुलमा पहिरो खस्दा बाबुछोराको मृत्यु

नहर भत्किँदा गएको पहिरोले दार्चुलाको नौगाड गाउँपालिका–४ होपरीमा दुई जनाको मृत्यु भएको छ। गएराति करिब १२ बजेतिर घरमाथि आएको पहिरोले घर पुरिँदा २५ वर्षीय चन्द्रसिंह महता र उनका ४ वर्षीय छोरा सुशान्तको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए।  

पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते भएकी छिन्। उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। पहिरोकै कारण मृतकको घर पूर्णरुपमा क्षति हुनुका साथै अन्य तीन जनाको घरमा समेत क्षति पुगेको छ। अन्य क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित: १५ असार २०७७ ०५:१० सोमबार

बाढीपहिरो