समाज

लकडाउनका कारण पीडितले राहत पाउन सकेनन्

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विस्तार भएसँगै देश लकडाउन भएपछि वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण कार्य रोकिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएका ५२ जनालाई राहत वितरण गर्न बाँकी छ । चालु आर्थिक वर्ष २०७६/७७ मा निकुञ्जमा ४ सय ४२ वटा निवेदन आएकोमा ३ सय ९० लाई मात्र राहत वितरण गरिएको छ ।  

लकडाउनका कारण पीडित आउन नपाएको र कार्यालयले पनि राहत पीडितसम्म पुर्‍याउन नसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत एंव सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवले बताए । ‘लकडाउन नभएको भए सबै जना पीडितले राहत पाइसक्थे’, उनले भने, ‘लकडाउनका कारण समस्या सिर्जना भएको हो ।’

निकुञ्जका अनुसार रसुवाको ठूलो स्याफ्रु, टिमुरे, बृद्घिम, खाम्जिङ, खैदी, दोमेन, कालिकास्थान, बेत्रावती, यार्सा, सरमथली लगायतको क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रमा सबैभन्दा बढी बदेँल, दुम्सी, बाँदर, चितुवा, भालुले क्षति पुर्‍याउने गरेको छ । निकुञ्जको तथ्यांक अनुसार वन्यजन्तुले ३७० घरधूरीको बालीनाली क्षति, १३ वटा पशुधन क्षति र ७ जना मान्छेलाई गम्भीर घाइते बनाएको छ ।  

निकुञ्जले चालु आर्थिक वर्ष २०७६/७७ को साउनदेखि हालसम्म ३७ लाख ५ हजार १ सय २५ रुपयाँ राहत उपलब्ध गराएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पछिल्लो समय वन्यजन्तुले क्षति पुर्‍याउने क्रम बढ्दै गएको छ । पछिल्लो समय वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउन थालेपछि स्थानीय चिन्तित बनेका छन् ।  

वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ । धेरैजसो जंगली बदेलले बाली क्षति गरेको निवेदन आउने गरेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् ।  

‘वन्यजन्तुले क्षति गरे अनुसार क्षतिपूर्ति दिन सकिदैन, उनले भनिन्, सहयोग स्वरूप राहत दिएका हौं ।’ मानव वन्यजन्तु बीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौति सिर्जना हुने उनको भनाइ छ ।

निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुले क्षति गर्ने क्रम बढ्दै गएपछि यसको दीर्घकालीन विकल्पसमेत खोज्न थालिएको छ । निकुञ्जले वन्यजन्तुबाट हुने क्षति कम गर्नका लागि यो वर्ष तारजाली लगाउने, ढुङ्गे पर्खाल लगाउने र चिराइतो खेती प्रवद्धन गर्ने कार्यक्रम अघि सारेको छ ।

जिल्लामा सबैभन्दा बढी बाँदरले क्षति गर्ने गरेपनि यसको समाधान हुन सकेको छैन् । बाँदरले क्षति गरेमा राहत दिने व्यवस्था पनि नभएकोले यसको समाधानको लागि विकल्प खोज्ने कार्य भइरहेको निकुञ्जकी प्रमुख संरक्षण अधिकृत रानाले बताइन् ।  

निकुञ्जमा मानव वन्यजन्तु बीच द्वन्द्व हुने गरेको छ । पीडितलाई थोरै भएपनि राहत दिँदा संरक्षणमा उनीहरूले भूमिका निर्वाह गर्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको राहत अक्षय कोषको ब्याँजबाट राहत वितरण गरिएको निकुञ्जले जानकारी दिएको छ । २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो । 

हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बदेल, ध्वासे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ । तर रसुवामा बाँदरले बढी क्षति पुर्‍याउने गरेको छ । बाँदरले क्षति पुर्‍याए वापत पीडितले राहत पाउँदैनन् । 

प्रकाशित: १४ असार २०७७ ०९:०४ आइतबार

लकडाउन कोरोना भाइरस वन्यजन्तुबाट पीडित