समाज

साता दिनदेखि खानेपानी अवरुद्ध

पहिरोले पाइप बगाउँदा सदरमुकाम बागलुङ बजारमा साता दिनदेखि खानेपानी अवरुद्ध छ। यसै त वर्षायाममा धमिलो पानी आएर हैरान उपभोक्ता लामो समय आपूर्ति नै रोकिँदा थप मारमा छन्।

सक्नेले महँगोमा ‘जार’ को पानीले खाँचो टारेपनि सबैको स्थिति उही छैन। पानीको जोहोका लागि बजार छेउछाउका मूल र धारामा सर्वसाधारणको भीड देखिन्छ। कतिपयले बलेनीको पानी जोगाएर नुहाइधुवाइ गर्छन्। शौचालय बस्ने पानीसम्म नभएको उपभोक्ताको गुनासो छ। बागलुङ नगरपालिका–२ की दीपा पौडेलले लुगा धुन छिमेकी गाउँ रात्माटा पुगेको सुनाइन्। तिर्खा जेनतेन मेटेपनि भान्सा र सरसफाइमा पानीको अभाव छ।

आजभोलि नै खानेपानी नआए हाहाकार निम्तने अवस्था छ। खानेपानी आउने भुदी खोलाको मुहान, दोविल्ला र रेशमा पहिराले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ। तीन दिनअघि मर्मत सकेलगत्तै दोविल्लामा पुनःपहिरो खस्दा पाइप बगेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए। नेपाली सेनाको समेत सहयोगमा अहिले मर्मतको काम चलिरहेको छ, उनले भने, भोलिसम्ममा खानेपानी सुचारु हुन्छ।

अर्जुनवाण गण घोडाबाँधेका जम्दार विवेक अधिकारीको नेतृत्वमा २० जना सैनिक पहिरो पन्छाउने र मर्मतको काममा खटिएका छन्। संस्थाका प्राविधिक दिनरात र झरी नभनी काममा लागेको प्रबन्धक शर्माको भनाइ छ। दोविल्लामा खसेको पहिरोले खानेपानीका १४ वटा पाइप बगाएको जनाइएको छ। ‘ग्याविन जाली’ भरेर त्यही माथिबाट पाइप ल्याउनुपर्ने भएकाले समय लागेको प्रबन्धक शर्माले बताए। अघिल्लो साता गएका पहिरोले भुदी, दोविल्ला र रेशमा गरी १७ वटा पाइप बगाएको थियो।

निरन्तर वर्षाका बीच मर्मत गरिए पनि पुनः दोविल्लामा खसेको पहिरोले पाइपमा क्षति पुर्‍याएको हो। सदरमुकाममा रिठेखोला, रेशखोला र भुदीखोला मुहानबाट खानेपानी आउँछ। रिठेखोलाबाट प्रतिसेकेण्ड ३ दशमलव ५, रेशखोलाबाट १७ र भुदीखोलाबाट २० लिटर पानी दैनिक आउने गर्छ। सदरमुकाममा उपभोक्ता थपिए पनि खानेपानीमा पुरानै आयोजनाको भर पर्नुपर्ने अवस्था छ। खानेपानी स्वच्छ र वितरण पनि प्रयाप्त छैन। वर्षा हुनासाथ धारामा धमिलो पानी खस्छ। आयोजनासँग पानी सङ्लो पार्ने उपकरण छैन। वर्षायाममा खोलानोला बढ्ने र मुहान पनि धमिलिने हुँदा समस्या हुने गरेको संस्थाले जनाएको छ।

प्रकाशित: १४ असार २०७७ ०६:२४ आइतबार

खानेपानी अवरुद्ध