समाज

अवैध जडिबुटी र सालको काठसहित ६ जना पक्राउ

धादिङ प्रहरीले अवैध जडिबुटीसहित चार जनालाई पक्राउ गरेको छ । रुविभ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा चेकजाँच गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । ट्रकलाई रोकी खानतलासी गर्दा गाडी भित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरिएको हो ।  

पक्राउ पर्नेमा मिनि ट्रक चालक धादिङ रुविभ्याली गाउँपालिका वडा नं १ बस्ने पेम्बा तामाङ, सह–चालक सोही ठाउँका टसी तामाङ, झ्यापरोङ तामाङ र ग्युार्मे नामग्याल तामाङ छन् । उनीहरुको साथबाट जटामसी ३१० किलो ०७७ ग्राम, निरमसी २ किलो १५० ग्राम, गुची च्याउ १७ ग्राम, यार्सा गुम्बा १ किलो ८ ग्राम बरामद गरिएको धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।  

त्यस्तै प्रहरीले चेकजाँचकै क्रममा दामगाडेबाट नै सालको काठ लोड गरी ल्याउदै गरेको मिनिट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । धादिङवेसी तर्फ आउदै गरेको बा.३ ख ८७०३ नम्बरको स्वराज मिनी ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकमा लोड गरी ल्याएको तासेको अवस्थामा रहेको अबैध साल जातको ३७.८४ क्यु फिट काठ सानो ठूलो गरी २५ वटा बरामद गरिएको छ । 

बरामद गरिएको काठ र गाडीसहित चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं.१२ आपस्वाँरा बस्ने २९ वर्षीय टिकाराम श्रेष्ठ र ट्रकमा सवार ३१ वर्षीय राजु श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए ।

प्रकाशित: १३ असार २०७७ १५:११ शनिबार

पक्राउ अबैध जडिबुटी सालको काठ