समाज

लकडाउनमा निकुञ्जभित्र वन्यजन्तुको चोरी शिकार गर्ने बढे

लकडाउनको मौका छोपेर लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको छ । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको शिकार बढेको देखिएको छ । गत आर्थिक वर्षको फागुनदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको पाँचौं महाहन्ट अप्रेसनमा २८ वटा पासो बरामद गरिएकोमा यो पटक २ सय वटा बरामद भएको छ । वन्यजन्तुलाई पासो थापेर शिकार गर्ने क्रम बढेको निकुञ्जको तथ्याङ्कले देखाउँछ ।  

निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले चैत ११ गतेदेखि जेठ मसान्तसम्ममा २ सय वटा पासो बरामद गरिएको जानकारी दिइन् । ‘महाहन्ट अप्रेसन फागुन १ गतेदेखि सञ्चालन गरेका थियौं’, उनले भनिन्, ‘लकडाउन अघिसम्म तीनवटा घटना मात्र भएका थिए बाँकी सबै लकडाउन पनि भएको हो ।’  

उनका अनुसार पासो वन्यजन्तु पर्ने परेको भेटिएको छैन । अभियानका कारण पासो राखेको स्थानमा गस्ती टोली समयमा नै पुगेका कारण वन्यजन्तुको क्षति हुन नपाएको हो । त्यसैगरी अवैध रूपमा काठ तथा दाउरा काट्ने पनि बढेका छन् । निकुञ्जले तीनवटा जिल्लामा सञ्चालन गरेको छैठौं महाहन्ट अप्रेशनको क्रममा पासोको साथै खुकुरी, हसिँया ७ थान, गुलेली, आरा, बन्चरो र माछा मार्ने जाल बरामद गरेको छ ।  

निकुञ्जले रसुवाको गोसाइँकुण्ड गाउँपालिका स्थित बृदिम, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका स्थित भोताङ र नेसमपाटी, नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थित घ्याङफेदीमा अभियान सञ्चालन गरिएको हो ।

२०७६ फागुनदेखि २०७७ जेठ मसान्तसम्मको तथ्यांक हेर्दा बालुवा गिट्टी तस्करी, वन फडानी लगायतका घटना भएका छन् । निकुञ्ज क्षेत्र भित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नका लागि विशेष अभियान सञ्चालन गरिँदै आएको छ ।  

अपरेशन बेश स्थापनापश्चात स्थानीय जनताको नेपाली सेना प्रति सकारात्मक भावना जाग्रित भएको, वन्यजन्तु तथा जैविक विविधताको चोरी शिकारमा नियन्त्रण, खोलानालाबाट ढुंगा माटो ओसारपसार र माछा मार्ने कार्य नियन्त्रण भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एंव सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवले बताए ।  

वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन गरिएको हो । आगलागी नियन्त्रण, अवैध क्रियाकलाप नियन्त्रण लगायतका कार्य गरिएको निकुञ्जले जनाएको छ । चार महिना सञ्चालन भएकोे अभियानमा एक महिना रिङ अप्रेसन गरिएको थियो भने बाँकी तीन महिना कोर अप्रेसन भएको छ ।

२०३२ सालमा स्थापना भएको निकुञ्ज तीन जिल्लामा फैलिएको छ । जसमा रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भूभाग ओगटेको छ । निकुञ्जमा एक हजार भन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय ५० भन्दा बढी पंक्षी, ११ प्रकारका सरिसृप, ३० प्रकारका माछा, १० प्रकारका माकुरा र ५८ प्रकारका पुतली पाइन्छन् । 

प्रकाशित: १३ असार २०७७ ०८:२५ शनिबार

लकडाउन निकुञ्जभित्र वन्यजन्तु चोरी शिकार