समाज

सिन्धुपाल्चोकमा चारले जिते कोरोना

कोरोना भाइरस संक्रमित भइ आइसोलेसनमा उपचाररत थप दुई निको भएर शुक्रबार घर फर्केका छन् । योसमेत जिल्लामा कोरोना जित्नेको संख्या चार पुगेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३९ र ४० वर्षीय पुरुष निको भएर घर फर्केका हुन् । उनीहरु मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा उपचाररत थिए । दोलखाको निर्माणाधीन जलविद्युत आयोजनामा काम गर्ने उनीहरु जेठ १० गते घर फर्केका थिए । घर फर्कँदा तराईमा चल्ने ट्रकमा चढेकै आधारमा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।

पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै जेठ २८ गते उनीहरुलाई घर फर्काइएको थियो । सोही दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गल्ति सच्याउँदै उनीहरु संक्रमित भएको रिपोर्टपछि उनीहरुलाई बाटोबाटै फर्काएर आइसोलेसनमा राखिएको थियो । १६ दिनको उपचारपछि उनीहरु घर फर्केका हुन् । अन्तिम रिपोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए । उनीहरु चौथो र पाँचौ संक्रमित हुन् ।

बिहीबार मात्र तेस्रो संक्रमित पुरुष कोरोना जितेर घर फर्केका थिए । उनी इन्द्रावती गाउँपालिकाका हुन् । इन्द्रावतीकै दोस्रो संक्रमित पुरुष यसअघि नै निको भर घर फर्किसकेका छन् । दुबै भारतबाट फर्केका थिए । पहिलो संक्रमित महिलाको भने मृत्यु भएको थियो । कोरोनाबाट मुलुकमा ज्यान गुमाउने उनी पहिलो थिइन् ।

जिल्लामा हालसम्म २९ संक्रमित भएकोमा अब २४ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये १४ महिला हुन् । उनीहरु कुबेतबाट फर्केका थिए । संक्रमितमध्ये  १९ जनाको मेलम्ची, तीनको काठमाडौँ र एक÷एकको बाह्रविसे र चौतारा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित: १२ असार २०७७ १५:०३ शुक्रबार

डिस्चार्ज कोरोना संक्रमण कोरोना मुक्त