समाज

यातायात कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड

छैन सुरक्षा सतर्कता

सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन । सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको बिहीबार ठूलो भीड देखिन्थ्यो, कार्यालय हाताभित्र ।     

विश्व स्वास्थ्य सङ्गठनले भनेको न्यूनतम सामाजिक दूरी त के, कसैलाई नछोई कार्यालय भित्र पस्न मुस्किल पर्ने देखिन्थ्यो । हुन त कार्यालयभित्र प्रवेश गर्नेबित्तिकै सुरक्षा गार्ड स्यानिटाइजर लिएर बसेका त छन् तर बढ्दो भीडका कारण सबै हातमा स्यानिटाइजर लगाउन सम्भव देखिएको थिएन । सामाजिक दूरी कायम गराउनका लागि त्यहाँ रेखांकन पनि गरिएको छ । 

तर, कसैले दूरी कायम गरेका छैनन् । अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर सेवाग्राहीमा देखिन्थ्यो । अधिकाँश सेवाग्राहीले नाक र मुख छोप्ने गरी मास्क झुन्ड्याएका थिए । तर, सामाजिक दूरी कसैले कायम गरेका थिएनन् । कसैलाई कोरोना भएको रहेछ भने अरुलाई सर्न पनि सक्छ ।           

सेवाग्राहीको गुनासो           

चालक अनुमतिपत्रका लागि झण्डै डेढ वर्ष पहिले लिएको परीक्षामा पास भएका धापाखेलका सुमन महर्जन बिहीबार चालक अनुमतिपत्र लिनका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगे ।  झन्डै दुई बजे पुगेका उनी लाम बस्दाबस्दै पालो नआएपछि रित्तो हात फर्कनुपरेको बताउँछन्  । चालक अनुमतिपत्रका लागि कार्यालयले लिएको परीक्षा पास गरेपछि उनी यस अघि नै तीन पटक कार्यालय पुगेका थिए । अनुमतिपत्र नआएको जवाफ पाएपछि यसअघि आफू तीन पटक कार्यालय पुगेर फर्किएको उनले बताए । यसपटक भने धेरै अनुमतिपत्र छापिसकेको भन्ने समाचार सुनेर आएको उनले बताए ।       

त्यस्तै, चालक अनमतिपत्र नवीकरणका लागि कार्यालय पुगेकी सीमा भण्डारी काम नै नबनेपछि फर्किएकी थिइन् । अनुमतिपत्र लिन जाँदा कार्यालयमा देखिएको भीडका कारण अनुमतिपत्र नलिई फर्किएको उनले सुनाइन् । सरकारले सबैतिर सामाजिक दूरी कायम गर्न भनेपनि यातायात कार्यालयमा त्यसको पालना नभएको उनको भनाइ छ । यो आर्थिक वर्षको अन्तिममा नवीकरण नगर्दा दस्तुर लाग्ने भएपनि कार्यालयको भीडले गर्दा उनी परिसरमा प्रवेश नै गरिनन् । उनले भनिन्, ‘बढी पैसा लागे पनि लागोस्, अहिले भीडमा नजाने भन्ने लाग्यो ।’          

सरकारले असारको १ गतेबाट सबै सरकारी कार्यालय खुलाएसँगै यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको हो । अनुमतिपत्र नयाँ वा नवीकरण गर्न आउनेको सङ्ख्या बढिरहेको छ । सेवाग्राहीको भीडका कारण एकातिर सङ्क्रमणको जोखिम बढेको छ भने अर्कातिर कतिपय सेवाग्राही काम नगरी घर फर्कन बाध्य भएका छन् । सेवाग्राहीको अत्याधिक भीडभाडका कारण प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।  

दैनिक झन्डै चार सय नयाँ चालक अनुमतिपत्र वितरण भइरहेको यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्रले जनाएको छ । त्यस्तै, चालक अनुमतिपत्र नवीकरण गर्न आउनेको सङ्ख्या झन्डै दुई सयको हाराहारीमा छ । त्योभन्दा बढी सेवाग्राही आएपनि फर्किने गरेको कार्यालय प्रमुख समरबहादुर कार्कीले बताए । कार्यालयसँग यति नै सेवाग्राही फर्किए भन्ने यकिन तथ्याङ्क नभएपनि धेरै सेवाग्राही उसै फर्किएको देखिन्छ । राजस्व बैङ्कमा बुझाउनुपर्ने भएकाले दुई बजेपछि आउने सेवाग्राहीको काम गर्न नसकिने उनले बताए । कार्यालयमा नयाँ अनुमतिपत्र लिने र नवीकरणका लागि आउनेहरुको भीड दुबै शाखामा भएको उनको भनाइ छ । उनले भने, ‘सेवाग्राहीको भिड नियन्त्रण गर्न गाह्रो भएको छ ।’           

कार्यालयले कोभिड–१९ को जोखिम कम गरेर सेवा दिनका लागि तयारी गरेको छ । कार्यालय हाताभित्र प्रवेश गर्दा ज्वरो नाप्ने र स्यानिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्था मिलाइएको छ । गोलो घेरा बनाएर सेवाग्राहीबीच सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । त्यसको पालना भने गर्न नसकिएको प्रमुख कार्कीले बताए । कार्यालय परिसरमा चार जना प्रहरी खटिएको भएपनि उनीहरुलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । उनले भने, ‘सेवाग्राही आफैँ सचेत नभएकाले हामीलाई बुझाउन गारो भइरहेको छ ।’        

कर्मचारीको उपस्थिति न्यून           

कार्यालयमा सेवाग्राहीको भीड बढिरहँदा कर्मचारी भने सबै आइसकेका छैनन् । झन्डै ५१ जना कार्यरत कर्मचारीमध्ये अहिले ३५ जना मात्रै कार्यालयमा आएको प्रमुख कार्कीले बताए । कतिपय कर्मचारी काठमाडौँ उपत्यका बाहिर टाढा जिल्लामा रहेकाले फर्कन सकेका छैनन् । कतिपय कर्मचारी जिल्लाबाट फर्किएपनि अहिले क्वारेन्टिनमा रहेकाले काममा आउन नपाएको उनले बताए । उनले भने, ‘सेवाग्राहीको चाप बढी भए पनि कर्मचारी कम भएकाले व्यवस्थापन गर्न गाह्रो भएको छ ।’      

कार्यालयले अहिलेसम्म दैनिक झन्डै छ सय अनुमतिपत्र वितरण गरिरहेकामा अझै झन्डै डेढ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । यातायात व्यवस्था विभागले बन्दाबन्दीको समयमा समेत अनुमतिपत्र छपाई गरिरहेको थियो । गत पुस १५ सम्मको अनुमतिपत्र आइसकेको छ । त्यो अवधिमा पनि कतिपय अनुमतिपत्र प्राविधिक त्रुटिका कारण विभागबाट नआएको उनले बताए । विभागबाटै अनुमतिपत्र नआएपनि सेवाग्राहीले कार्यालयले नदिएको सोचेर विवाद गर्छन् । उनले भने, ‘सेवाग्राहीलाई बुझाउनै गाह्रो भएको छ ।’          

३८ लाख ५० हजार राजस्व संकलन     

विभागले असार १ गतेदेखि विहीबारसम्ममा रु ३८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । गत वर्षहरुमा पनि आर्थिक वर्षको अन्तिम महिनामा कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको थियो । चैतको ११ गतेदेखि जेठसम्म बन्दाबन्दीका कारण सरकारी कार्यालय बन्द रहेको र असार १ गतेबाट कार्यालय खुलेपछि सेवाग्राहीको भीड ह्वातै बढेको बताइएको छ । त्यस्तै सुकेधारा, जगाती र सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ ।    

प्रकाशित: १२ असार २०७७ १२:२३ शुक्रबार

सेवाग्राही यातायात कार्यालय