खाडी मुलुक साउदीमा दिनहुँ अनेकन दुःख झेलेर वर्षदिन काटेका धनुषा बटेश्वर गाउँपालिका—१ चित्रपुरका विजय कुमार महतो स्वदेश फर्किदा झनै उदास देखिन्थे। विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सहजै आइपुगेका उनी काठमाडौँबाट जनकपुरसम्मको भोकभोकै यात्रा र जनकपुरबाट क्वारेन्टिनसम्म आइपुग्न झेलेको दुःख सम्झिदा स्वदेशमा समेत अपनत्व महसुस नगरेको बताँछन्। मंगलबार राति साउदीबाट उडेका उनी बुधबार विहानै करिब ६ बजे काठडमाडौँस्थित विमानस्थल आइपुगेका थिए। त्यहाँबाट नेपाली सेनाको गाडीमा बुधबार साँझ करिब ८ बजे उनी जनकपुर आइपुगे। मंगलबार दिउँसै खाना खाएर एयरपोर्ट हिँडेका विजय बुधबार रातिसम्म भोकभोकै थिए।
‘हातमा न नेपाली रुपैँया थियो न बाहिर निस्किने अनुमती। भोकै प्यासै गाडीमा जनकपुरसम्म आए। घरमा बुवालाई क्वारेन्टिनसम्म पुर्याउने व्यवस्था मिलाइदिन भनेको थिएँ तर बुवालाई मेयरले पैदलै हिडेर आउन भनेछन्,’ उनले भने। भोकभोकै बसिरहेका उनी राति करिब ८ बजे क्वारेन्टिनसम्म करिब २५ किलोमिटर पैदलै आउनुपर्ने सुनेपछि निरास भए।
विदेशबाट फर्केकालाई क्वारेन्टिनसम्म ल्याउने जिम्मा स्थानीय तहको रहेको सुनेपछि उनका बुवा मंगल महतो स्थानीय नेताहरुसँग सम्पर्क नगरेका होइनन्। तर ती नेताहरुले गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई फोन गर्दा पैदलै हिडेर आउन भनेको उनले सुनाए।
‘हामीसँग गाडी छैन। कि पैदलै हिडेर आउन भन्नु कि आफैले कुनै गाडी पठाउनु अनि ल्याउनु भनेर गाउँपालिका अध्यक्षले भनेपछि दिनभरी भौतारिए तर विदेशबाट आएको भन्दा एम्बुलेन्सले मानेन्,’ उनले गुनासो पोख्दै चुनावको बेला सम्झिए, ‘चुनावमा खुट्टै ढोग्न आएका थिए। तर काम परेकोबेला कुनै मतलब गरेनन्।’
गाउँपालिकाले नल्याइदिएपछि अलपत्र परेका विजयलाई क्वारेन्टिनसम्म ल्याइदिन उनका बुवा मंगलले चिनजान र आफन्तलाई हार गुहार लगाउँदै गए। नेपाली सेनाले ल्याएर राखेको ठाउँमा बास बस्न नदिएपछि जसोतसो राति २ बजे गाडी भाडा गरेर विजय काली जनज्योती माविको क्वारेन्टिनसम्म आइपुगे।
र त्यो रात समेत उनी भोकै सुते। भारतको तामिलनाडुबाट फर्केका वडानम्बर १ कै स्थानीय राम कुमार महतो समेत भिठामोड नाकासम्म आइपुगेका थिए। तर गाउँपालिका अध्यक्षलाई फोन गर्दा उनले अरु पालिकाको गाडीमा चढेर आउनु भन्दै पन्छिए।
नाकामै अलपत्र परेपछि उनी महोत्तरीको भंगहा नगरपालिकाको गाडी चढेर क्वारेन्टिनसम्म आइपुगे। अन्य मुलुकबाट क्वारेन्टिनसम्म आइपुग्न यी दुइ जनाले झेलेको दुःख प्रतिनिधिपात्र मात्र हुन्।
गाउँपालिका अध्यक्ष राउतले जिम्मेवरीबाट पन्छिदै बेवास्ता गरेपछि बटेश्वर गाउँपालिको क्वारेन्टिनमा बस्न आउने अधिकांस व्यक्ति यस्तै पीडा भोग्न बाध्य भएका छन्। चिनजानको व्यक्तिमार्फत भंगहा नगरपालिकाको गाडीमा आएकाले आफुलाई खासै दुःख नझेल्नु परेपनि बोर्डरमा अन्य व्यक्तिहरुलाई रुवेरै बसिरहेको देखेको स्थानीय रामकुमारले सुनाए।
‘जसको कोही छैन् उसले कि त भोकभोकै हिडेरै आउनुपर्छ कि बोर्डरमै रुएर बस्नुपर्छ। मजदुरी गरेर फर्किनेहरुलाई मालिकले लकडाउनमा पैसा दिँदैन। खाली हात फर्किनु परेको छ। गाडी भाडा कुन पैसाले गर्ने ?,’ उनले थपे। जिल्ला प्रशासन कार्यालय धनुषाले गाउँपालिकाले देखाएको यो उदासिनता दुःखद रहेको बताए।
‘भारत लगायत अन्य मुलुकबाट फर्किर स्थानीय क्वारेन्टिन पुग्ने व्यक्तिलाई क्वारेन्टिनसम्म ल्याउने र व्यवस्थापन गर्ने स्थानीय तहको जिम्मेवारी छ,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश मिश्रले भने, ‘बाहिरबाट आएको मानिस आफै घरमा पुगेभने त्यसको जिम्मेवारी कसले लिन्छ ? आउँदा आउँदै कतै अन्त्य भागे भने के हुन्छ ? स्थानीय सरकारले उनीहरुको जिम्मेवारी लिनैपर्छ। ’
गाउँपालिका अध्यक्ष राउतले एकाध जनका लागि गाडीको व्यवस्थापन नगरेको बताए। ‘बोर्डरबाट आउँदा अन्य नगरपालिकाले कोर्डिनेशन गरदिन्छ। हामी उनीहरुकै गाडी चढेर आउन भन्छौँ,’ उनले भने, ‘एकाध जनाकालागि गाडी जाँदैन उनीहरुलाई तपाईँहरु आफैले व्यवस्था गर्नुस भनेर भनदिने गर्याछौँ। हामीसँग साधन छैन। केहीलाई जनकपुरसम्म आउनुस हामी ट्रयाक्टर पठाइहाल्छौँ पनि भन्छौँ। ’ विदेशबाट फर्किने व्यक्तिको बारेमा राज्य पक्षले कुनै जानकारी नदिएकाले समस्या भएको अध्यक्ष राउतको भनाइ छ।
प्रकाशित: १२ असार २०७७ १०:३३ शुक्रबार