समाज

तटबन्धनले जोगायो बस्ती

नारायणी नदी किनारमा गरिएको तटबन्धनले रामघाटर शिवघाटलगायत तटीय क्षेत्रका बस्ती जोगाएको छ। तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सो कार्य सम्पन्न भएका थिए ।सो स्थान तीन सयभन्दा बढी घर बाढीको जोखिममा रहेका बताइएको छ।  

भरतपुर महानगरपालिका–४ नारायणीधाम आश्रम नजीक गरिएको तटबन्धनले ठूलो क्षति हुनबाट जोगाएको वडाध्यक्ष  हरि आचार्यले  बताए। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सो कार्यक्रमबाट २५ लाख रूपैयाँको बजेट ५० लाखभन्दा बढीको काम भएको उनले बताए।

नारायणी गाउँतिर पस्छ कि भन्ने अवस्थामा हुँदा गरिएको तटबन्धनले गाउँ सुरक्षित भएको छ, उनले भने, नदी किनारका बासिन्दाको जमीन व्यवस्थापन राम्रो भएको छ। निःशुल्क रुपमा श्रमदान भएर काम हुँदा थोरै बजेटले पनि धेरै काम हुन सकेको उनको भनाइ छ। सो कार्यक्रमलाई यहाँ निरन्तरता दिनका लागि भरतपुर महानगरपालिकामार्फत विभिन्न योजना पेश गरेर पहल भइरहेको उनले बताए।  

नारायणीधाम आश्रम तटबन्धन उपभोक्ता समूहका अध्यक्ष तारानाथ पौडेलले तीन महिनामा श्रमदानसहित काम सम्पन्न गरिएको बताए। यो तटबन्धनले आश्रमको सुरक्षादेखि यहाँका तीन सय परिवारलाई सुरक्षित बनाएको छ, उनले भने, नदी तटबन्धनका लागि दुई सय १९ जाली भरिएको छ, जसका कारण आश्रमको करीब चार कट्ठा जमीनसमेत उकासिएको छ। नदी तटबन्धनका लागि ५१ मिटर लम्बाइ ३१ मिटर चौडाइ तथा १० मिटर उचाइको तारजाली गरिएको उनले जानकारी दिए।

नदी तटबन्धनबाट स्थानीयवासी समेत खुशी भएका छन्। स्थानीयवासी कपिल अर्यालले नारायणी नदीको पानी बगिरहेको स्थानमा आफ्नो जग्गा भएको उल्लेख गर्दै नदी तटबन्धनका लागि सो जग्गा आउने आशा गरेको बताए। तटबन्धनको पछाडिको भागमा नदीले माटो थुपार्न शुरु गरिसकेको छ, मेरो जग्गा आउने लक्षण देखिइसकेको छ, उनले भने, हामी सबैको जग्गामा धेरै पहिलेदेखि नदीले कटान गरिरहेको थियो, नदीले बर्सेनी माटो झारिरहेको हुन्थ्यो अब त्यो माटो झर्ने काम बन्द हुने विश्वास लिएका छौँ। यस कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीयवासीको खुशी फर्काउनका लागि स्थानीय तथा सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनले बताए।

नारायणीधाम आश्रम तटबन्धन उपभोक्ता समूहका सदस्य एवं नारायणी सामुदायिक वनका अध्यक्ष महेन्द्र पौडेलले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत यहाँ भएको तटबन्धन यो क्षेत्रकै लागि राम्रो पक्ष भएको बताए। नदी तटबन्धन गरेपछि यहाँदेखि तलका सबै बस्ती घरहरु सुरक्षित भएका छन्, उनले भने, यहाँ जसरी तटबन्धनको काम भएको छ यसले राष्ट्रको पैसा सही ठाउँमा सदुपयोग भएको हाम्रो विश्वास छ।

नदी कटानले हैरान खेप्दै आएका स्थानीयवासीलाई सो तटबन्धनले ठूलो राहत दिएको छ। मनसुन शुरु भएपछि त्रासको अवस्थामा बस्न बाध्य स्थानीयवासी नदी तटबन्धनपश्चात् भने खुशीको सास फेर्न पाएको बताउँछन्।  

प्रकाशित: १२ असार २०७७ ०९:३२ शुक्रबार

तटबन्धन बस्ती