समाज

क्वारेन्टिनबाट भागे २१ जना कोरोना संक्रमित

दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका कोरोना संक्रमितहरु विहीवार राति भागेका छन्। उनीहरु भागेर गाउँतिर लागेपनि नौमुलेमा रहेको ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली कोरोना संक्रमितहरु खोज्न परिचालित भएको छ।  

आफू जोखिममा मोलेर प्रहरीले राति नै केही कोरोनाका विरामीहरुलाई गाउँबाट फर्काएर क्वारेन्टिनमा ल्याएको थियो। आफूहरुलाई कोरोना भाइरस देखिएको १२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको भन्दै उनीहरु क्वारेन्टिनबाट भागेको नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढामगरले बताए। क्वारेन्टिनबाट २१ जना भागेका थिए। अहिले भैरव माध्यमिक विद्यालय नौमुले बजारमा रहेको क्वारेन्टिनमा २ जना महिलासहित ९२ जना कोरोना संक्रमित बस्दै आएका छन्। 

‘भागेकाहरुमध्ये केही संख्यामा हिजो राति ल्याइयो।’ गाउँपालिकाका अध्यक्ष बुढामगरले भने, केहीलाई आज (शुक्रवार)ल्याइदैछ। प्रहरी गाउँ गाउँ पुगेका छन्।’ अहिले जिल्लाबाट नौमुलेमा थप प्रहरी टोली परिचालन भएको छ। दैलेख मुकामबाट नौमुले पुग्न गाडीमा १ घण्टा लाग्छ। कोरोना संक्रमित भागेको खवर आएपछि जिल्लाबाट सहयोगका लागि थप प्रहरी परिचालित भएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरीबहादुर ओलीले बताए। जिल्लामा प्रहरी संख्या कम भएकाले प्रहरीहरु आफ्नो डयूटी समय बढाएर काम गरेका छन्। कम सुरक्षाकर्मी जिल्ला हुँदा कोरोना भाइरसको महामारीमा सुरक्षा ब्यवस्थापनमा निकै चुनौती थपिएको सुरक्षा अधिकारीहरु बताउँछन्। 

प्रकाशित: १२ असार २०७७ ०७:३३ शुक्रबार

क्वारेन्टिन कोरोना संक्रमित