समाज

आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

नौ चिकित्सक र स्वास्थ्यकर्मीमा पनि कोरोना

आत्महत्या गरेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखस्थित दुल्लु नगरपालिका–१०, का २१ वर्षीय युवकमा कोरोना संक्रमण भएको हो ।

उनी बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गरेपछि उनको प्रदेश अस्पताल कालागाउँमा पिसिआर परीक्षण गरिएको दुल्लु अस्पतालकी डा. पुजा विसीले जानकारी दिइन् । उनका अनुसार मृतक युवा गत जेठ ११ गते भारतबाट दैलेख आइपुगको थिए । ‘मृतक युवा पञ्चकोसी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिन बसेका थिए,’ उनले भनिन्, ‘आरडीटी नेगेटिभ देखिएपछि उनलाई घर पठाएका थियौ ।’

आत्महत्या गरेका युवकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए । यसभन्दा अघि सुर्खेतमा आत्महत्या गरेका एकजनामा कोरोना पुष्टि भएको थियो । उनीहरूको आत्महत्याको कारण भने खुल्न सकेको छैन । कर्णालीमा कोरोनाका कारण चारजना र आत्महत्यापछि दुईजनामा कोरोना संक्रमण देखिएका स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

साथै कर्णाली प्रदेश अस्पताल कालागाउँमा कार्यरत नौजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक सेवाबाहेक अरुसबै सेवा बन्द गरिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

प्रकाशित: ११ असार २०७७ १३:१७ बिहीबार

कोरोना पुष्टि