समाज

कोरोना परीक्षण ढिला भएको नागरिकको गुनासो

किट अभावले परीक्षण सुस्त

अव्यवस्थित क्वारेन्टिनको बसाई । कोरोना परीक्षणका लागि स्वाब संकलन भएको लामो समय भैसक्दा पनि परीक्षण रिपोर्ट नआउनु । क्वारेन्टिनमा बसेकाहरु यो समस्याले आजित बनेका छन् । परीक्षण रिपोर्ट नआएको भन्दै घोराही १८ स्थित क्वारेन्टिनमा बसेका नागरिकहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल गेटमा धर्ना नै दिए । उनिहरुको माग थियो ‘क्वारेन्टिन व्यवस्थित गर, अनि चाँडो रिपोर्ट देउ ।’ महिना दिनसम्म क्वारेन्टिनमा बस्दासम्म पनि परीक्षण रिपोर्ट नआएको भन्दै अहिले ब्यापक असन्तुष्टि चुलिएको छ ।  

साविक राप्तीका पाँच जिल्ला दाङसहित सल्यान, रोल्पा, प्यूठान, रुकुम लगाएत बाँके, बर्दिया, बपिलवस्तु जिल्लासम्मका नागरिकको स्वाब परीक्षण गर्ने थलो राप्ती स्वास्थ्य प्रतिष्ठानमा परीक्षण मेशिन एउटा मात्रै थियो । एउटा मात्रै मेशिनले दिनमा तीन सयको हाराहारीमा कोरोना परीक्षण हुँदा परीक्षणको गती निकै सुस्त बन्दै गयो, भने स्वाब संकलन हुने क्रम ह्वात्तै बढ्दै गयो । परीक्षण गती बढाउने उद्येश्यले प्रतिष्ठानले थप अर्को मेशिन भित्र्यायो । यो मेशिन भित्रिएपछि दिनमा हजारको हाराहारीमा स्वाब संकलनको लक्ष्य प्रतिष्ठानले पुरा गरिरहेको छ । परीक्षणका लागि मेशिन जडान गरेपछि परीक्षणका लागि चाहिने किटको अभाव भने यथावतै छ ।

फलतः दुईवटा मेशिन जडान भएपनि किट समस्याका कारण परीक्षणको गती प्रतिष्ठानले बढाउन सक्ने अवस्था देखिन्न । ‘परीक्षणको दायरा बढाएर चाँडो रिपोर्ट दिने लक्ष हामीहरुले राखेका हौँ,फलतः दुईवटा मेशिन जडान भए,’ प्रतिष्ठान स्रोतले भन्यो ‘तर मेशिन मात्रै भएर के गर्नु ? कोरोना परीक्षणका लागि चाहिने किट हामीहरुलाई उपलब्ध गराईन्न ।’

केहि दिन अघि मात्रै पनि किटको अभाव हुँदा परीक्षण रोकिने अवस्थामा थियो । रातारात प्रतिष्ठानले काठमाडौँबाट किट ल्याएको थियो । प्रतिष्ठानले यो बेला १० हजार किट उपलब्ध गराउन सरकारलाई भनेको थियो । तर दुई हजार किट मात्रै सरकारले उपलब्ध गरायो । प्रतिष्ठानका अनुसार अबको एक दिनमात्रै परीक्षणका लागि प्रतिष्ठान संग किट उपलब्ध छ । ‘हामीहरुले १० हजार किट माग गरेका थियौँ, तर २ हजार मात्रै उपलब्ध गराईयो, हामीलाई उपलब्ध किट सकिने अवस्थामा पुगिसकेको छ,’ प्रतिष्ठान स्रोतले भन्यो ‘सरकारले थप किट उपलब्ध नगराए अबको दुई दिन पछि परिक्षणनै रोकिने अवस्था आउँछ ।’

प्रतिष्ठानले क्वारेन्टिनमा बसेका सबै नागरिकहरुको स्वाब परीक्षणका लागि तदारुकता देखाएको भएपनि सरकारले कोरोना परिक्षणका लागि आवश्यक स्वाब उपलब्ध नगराउँदा समस्या भएको दाबी गरेको छ । ‘क्वारेन्टिनमा बसेका सबै नागरिकहरुको यथासक्य चाँडो परीक्षण गर्ने लक्ष प्रतिष्ठानको पनि हो,’स्रोतले भन्यो ‘तर परिक्षणका लागि सरकारले गरेको असहयोगका कारण सोचे अनुरुप काम अगाडी बढाउन नसकिएको मात्रै हो ।’

प्रकाशित: ९ असार २०७७ १२:१७ मंगलबार

कोरोना परीक्षण नागरिकको गुनासो परीक्षण सुस्त