समाज

बुधबारदेखि वर्षा व्यापक हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर : बाढी

भोलि (बुधबार) देखि वर्षा अझ व्यापक बन्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै भोलिबाट नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय प्रणाली बन्ने भएकाले मनसुनी गतिविधि बढ्ने भन्दै सजग रहन सेचत गराएको हो।  

‘यस वर्षको मनसुन जुन १२ मा नेपाल भित्रिएर जुन २१ मा देशभरी फैलिएसँगै मनसुनको न्यून चापीय रेखा भोलिबाट नेपालको पूर्वी भूभागनजिकै रहने देखिएकाले आगामी केही दिन मनसुनी गतिविधि बढ्न गई देशका सातै प्रदेशका धेरै स्थानमा  हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १,  प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ,’ विशेष बुलेटिनमा भनिएको छ, ‘तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने,  सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

आज दिउँसो र राति वर्षाको सम्भावना कस्तो छ?

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

यस्तै राति पनि देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

प्रकाशित: ९ असार २०७७ ०९:३५ मंगलबार

वर्षा मनसुन