समाज

लकडाउनमा नौ स्थानमा थपिए सीमा प्रहरी

सुध्रिँदै सीमा क्षेत्रको सुरक्षा

खांग्रामा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बलको पोस्ट उद्घाटन गर्दै प्रजिअ गोविन्द रिजाल। तस्बिर सौजन्यः शिबु खनाल

एक वर्षअघिसम्म दाङको नेपाल–भारत सीमा क्षेत्रमा एक स्थानमा मात्रै सीमा सुरक्षा प्रहरीको उपस्थिति थियो। कोयलाबासमा मात्रै रहेको सीमा सुरक्षा प्रहरीलाई ८३ किलोमिटर सीमा क्षेत्रको निगरानीका लागि हम्मेहम्मे पथ्र्यो। सडक नहुँदा पैदल हिँडेरै सुरक्षाकर्मीले सीमा रक्षार्थ अहं भूमिका निर्वाह गर्दै आए। तर एक स्थानमा मात्रै रहेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको उपस्थिति अहिले सीमा क्षेत्रमा बढाइएको छ। फलतः अहिले सीमा सुरक्षामा चुनौती धेरै हदसम्म कम भएको छ। कोयलाबासपछि सुनपथरी नाकामा सशस्त्र प्रहरीको दोस्रो सुरक्षा पोस्ट खडा भयो। ‘एक स्थान (कोयलाबास) मा मात्रै सीमा सुरक्षार्थ प्रहरीको उपस्थिति हुँदा सीमा निगरानीमा समस्या भएको थियो,’ दाङका प्रजिअ गोविन्द रिजालले भने, ‘एक वर्षयता सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको सुरक्षा पोस्ट बढान सुरु ग¥यौं।’  

कोरोना संक्रमणको उच्च जोखिम बढेपछि प्रशासनले नेपाल–भारत सीमा क्षेत्रलाई दाङमा कोरोना संक्रमण भित्रिन सक्ने प्रमुख जोखिम क्षेत्रका रूपमा मान्यो। भारतमा बढिरहेको संक्रमण यी खुला सीमानाकाबाट हुने मानिसको आगमनले संक्रमण सहजै भित्रन सक्ने प्रशासनको आँकलन थियो। फलतः कोयलाबास र सुनपथरी नाकाबाहेकका अन्य खुला नाकामा प्रहरीको उपस्थिति बढाउनु अपरिहार्य नै थियो। जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्न तथा सीमा सुरक्षाका लागि लकडाउन अवधिमै थप नौ स्थानमा सशस्त्र प्रहरीको पहुँच विस्तार गरिदियो। अहिले सशस्त्र प्रहरीको उपस्थिति ११ नाकामा विस्तार भइसकेको छ। ‘कोरोना त्रासका कारण पनि खुला रहेको सीमाक्षेत्रबाट हुने मानवीय आवतजावतलाई रोक्नुपर्ने नै थियो, यसर्थ पनि सुरक्षा कडाइ आवश्यक थियो,’ रिजालले भने, ‘सीमाक्षेत्रको मजबुत सुरक्षाका लागि लकडाउन अवधिमै थप नौ स्थानमा सुरक्षा पोस्ट खडा ग¥यौं।’  

प्रजिअ रिजालले अहिले सीमाक्षेत्रमा सुरक्षा दृष्टिकोणले पहिलेको तुलनामा धेरै बल पुगेको भन्दै नाका क्षेत्रमा सीमासम्बन्धी कुनै समस्या नरहेको बताए। यसअघि भने कहिलेकाहीँ भारतीय पक्षले हेपाहा व्यवहार देखाउने गरेको गुनासो सीमाक्षेत्रका नेपालीबाट आउथे। ‘अहिले सीमा र सीमा क्षेत्रमा बसोबास गर्दै आएका दङाली नागरिकमा कुनै समस्या छैन,’ प्रजिअ रिजालले भने ‘स्थानीयलाई पनि प्रहरीको उपस्थिती पाएपछि सुरक्षित महसुस गराइदिएको छ।’ उनका अनुसार थप आठ स्थानमा छिट्टै सशस्त्र प्रहरीको उपस्थिति बढाउने तयारी भइरहेको छ। यसर्थ सशस्त्र प्रहरीलाई सीमाक्षेत्रमा केन्द्रित गर्ने उद्देश्यले जिल्लाका कारागारमा समेत सशसत्र प्रहरीको सुरक्षा हटाइएको छ। कारागारहरुको सुरक्षा केही दिन अघिदेखि नेपाली सेनाले गर्दै आएको छ।  

‘कोरोना संक्रमणको त्रासका कारण पनि खुला सीमाक्षेत्रबाट हुने मानवीय आवतजावतलाई रोक्नुपर्ने नै थियो, यसर्थ पनि सुरक्षा कडाइ आवश्यक थियो।’

नेपाल–भारत सीमा क्षेत्रमा खटिएका प्रहरी दुई स्थानबाहेक नौ स्थानमा कच्ची घरमा बस्दै आएका छन्। कोयलाबासमा भन्सार कार्यालयको भवनमा प्रहरी बस्दै आएको छ भने सुनपथरीमा प्रदेश सरकार र राजपुर गाउँपालिकाको लगानीमा सरकारी संरचना निर्माणको काम भइरहेको छ। अन्य नौ स्थानमा भने स्थानीयका कच्ची घर भाडामा प्रयोग गरिएको छ। ‘कोयलाबासमा पहिलेदेखि नै भन्सार कार्यालयको भवनमा प्रहरी बस्दै आएको छ। यसैगरी सुनपथरीमा नयाँ भवन बन्दै छ,’ प्रजिअ रिजालले भने, ‘अन्य नौ स्थानमा भने स्थानीय नागरिकका कच्ची (फुसले छाएका) घरमा बसेका छन्।’

हराएका पिलर अझै बनेनन्

दाङमा पर्ने ८३ किलोमिटर नेपाल भारत सीमाक्षेत्रमा कुल ७७ वटा सीमास्तम्भ हुन्। तर लामो समयदेखि यो सीमाक्षेत्रमा ७६ वटा मात्रै छन्। खबरीखोला भन्ने स्थानमा रहेको सहायक स्तम्भ खोलाले बगाएको निकै लामो समय भइसक्यो । तर खोलाले बगाएको यो स्तम्भको पुनर्निर्माण वर्षौं बितिसक्दा पनि हुन सकेको छैन। ‘धेरै समयअघि खोलाले बगाएको एउटा सीमास्तम्भ अहिलेसम्म बन्न सकेको छैन,’ प्रजिअ रिजालले भने, ‘खबरीखोला भन्ने स्थानमा सीमास्तम्भ खोलाले बगाएको रहेछ।’ सीमा पुनर्निर्माणका लागि दुईदेशीय सम्झौता हुनुपर्छ। यही सम्झौताका आधारमा दुवै देशका प्रतिनिधि सहभागी भई सीमाको यकिन स्थान किटान गरी पुनर्निर्माण गर्नुपर्ने हुन्छ। यसैगरी नेपालतर्फका जीर्ण अवस्थामा रहेका अन्य सीमा स्तम्भहरुको भने मर्मत भएको प्रजिअ रिजालले जानकारी दिए । ‘हराएको स्तम्भबाहेक अरू जीर्ण अवस्थामा रहेको सीमा स्तम्भहरुको भने मर्मत भएको छ,’ उनले भने।

प्रकाशित: ९ असार २०७७ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App